post-slider post-slider

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने, ५५ लाख निकासा

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतको दिल्लीमा उपचार गराउँदा भएको खर्च सरकारले बेहोर्ने भएको छ।

परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेलको उपचार खर्च निकासाको स्वीकृति अर्थ मन्त्रालयलाई दिएको हो।

यसअघि भारतमा गरिएको उपचार खर्च आफैंले बेहोर्ने पौडेलले इच्छा व्यक्त गरेका थिए।

अर्थ मन्त्रालयको बजेट महाशाखालाई १८ असारमा परराष्ट्र मन्त्रालयका उपसचिव भेषराज भुर्तेलले पठाएको पत्रमा भनिएको छ ‘यथार्थ खर्चको बिल भर्पाइबमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख २ हजार २७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलाप बजेट निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गतेको निर्णय (सचिवस्तर) को प्रतिलिपी र अन्य आवश्यक कागजातहरू यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ।’

राष्ट्रपतिको स्वकीय सचिवालयले भारतमा भएको उपचार खर्च राष्ट्रपपति पौडेल आफैंले बेहोर्ने इच्छा व्यक्त गरेको जनाएको थियो।

१९ वैशाखमा पौडेलको सचिवालय जारी गरेको प्रेस नोटमा भनिएको थियो,‘सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा विदितै छ। उपचारका क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ।’

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल एयर एम्बुलेसमार्फत ६ वैशाखमा उपचारका लागि नयाँ दिल्ली गएका थिए।
उनको त्यहाँ १७ वैशाखसम्म उपचार चलेको थियो।

 

Tags: