post-slider post-slider

नेपालीको शव इजरायलले नेपालसम्म ल्याइदिने

Image
A A

काठमाडौं- इजरायलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये पाँच जना नेपाली विद्यार्थीको शव यसै साताभित्र नेपाल आइपुग्ने बताइएको छ।

इजरायलमा मारिएका विद्यार्थीका आफन्तले शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई थप पीडा भएको बताएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायल सरकारले नै नेपालीहरूको शव काठमाडौं ल्यादिने भएको छ।

त्यसका लागि इजरायली नियमअनुसार प्रक्रिया चलिरहेको छ।

परराष्ट्रमन्त्री साउदले मृतक १० जनामध्ये पहिचान भएका पाँच जनाको शव प्राप्त भएको र ती शव चाँडै नेपाल आउने बताएका छन्।

यसअघि मंगलबार इजरायस्थित नेपाली राजदूतावासले एउटा वक्तव्य निकाल्दै पहिचान भएका शवहरूको प्रक्रिया पूरा गरेर दुई–तीन दिनभित्रै नेपाल पठाइने जनाएको थियो।

मन्त्री साउदले आक्रमणमा बेपत्ता भएका विद्यार्थी विपिन जोशीको खोजीका लागि पनि सबैखाले कूटनीतिक पहल भइरहेको बताएका छन्।

यसअघि गत सोमबार साउदले जोशीको खोजीका लागि पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीलाई आग्रह गरेको जनाइएको थियो।

उनले जोशीको खोजीका लागि पहल गरिदिन अन्य अरब देशका निकायहरूसँग पनि नेपालले कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरू इजरायल र नेपाल सरकारबीचको सम्झौताअनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गाजाको सीमा नजिकै कार्यरत थिए।

त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए।

अन्य दुई जना भने सकुशल रहेका थिए।

जोशीसँगै एउटै फर्ममा कार्यरत र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

पछि उनलाई हमासका लडाकुहरूले लिएर गएको भन्ने विवरण पनि आएका भए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला नपारिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

इजरालय र प्यालेस्टिनी लडाकु समूह हमासबीचको तनावका कारण इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीहरूलाई परराष्ट्रमन्त्री साउदको नेतृत्वमा गएको टोलीले गत साता उद्धार गरेर नेपाल ल्याएको थियो।

नेपाल वायु सेवा निगमको चार्टर गरिएको विमानमा गत शुक्रबार बिहान २५३ नेपाली विद्यार्थीलाई नेपाल ल्याइएको थियो।

त्यस बेला स्वदेश फर्कन चाहने अन्यलाई पनि चाँडै ल्याउन पहल भइरहेको परराष्ट्रमन्त्रालयले जनाएको थियो।

त्यही प्रतिबद्धताअनुसार मंगलबार थप १८ जना नेपालीहरूलाई स्वदेश फर्काइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

पछिल्लो समय १८ जना नेपालीलाई भारतले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमानबाट नयाँदिल्लीसम्म ल्याइएको हो।

 

Tags: