भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
भक्तपुर - आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दाबढी राजश्व संकलन गर्न सफल भएको छ।
कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्ब ५० करोड ९६ लाख ४१ हजार राजश्व संकलन भएको छ। तथापि यो लक्ष्यको ७७ प्रतिशत मात्रै उपलब्धी हो।
कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कात्तिक महिनासम्म) मा एक अर्ब ९५ करोड ८६ लाख ५५ हजार राजश्व उठाउने लक्ष्य रहेका थियो।
कार्यालय प्रमुख दिलीपकुमार गौतमले चालू आवको प्रथम चौमासिकमा गत वर्ष भन्दा धेरै कर संकलन भए पनि लक्ष्यभन्दा कम अर्थात् लक्ष्यको ७७ प्रतिशत मात्रै कर उठाउन सफल भएको जानकारी गराए।
उनका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा गत आर्थिक वर्ष २०८०/८१ मा असुलीको आधारमा यसवर्ष २५ प्रतिशत थप गरी वर्षभरिमा ६ अर्व ९ करोड १९ लाख ८३ हजार राजश्व उठ्ने अनुमान गरिएको छ।
गत आर्थिक वर्षभरिमा कार्यालयले ४ अर्ब ८६ करोड ५२ लाख ५१ हजार उठाउन सफल भएको थियो। उक्त आर्थिक वर्षमा ५ अर्ब ७६ करोड २९ लाख ४१ हजार राजश्व उठाउने लक्ष्य रहेको थियो ।
कार्यालयका कर अधिकृत सराजेकुमार सिंहले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार प्रगति हासिल हुने आशा व्यक्त गरे। त्यसका लागि त्यही गतिमा लागिपरेका छौं, उनले थपे, आशा छ, हामी सवैको सहकार्यबाट यो सम्भव हुनेछ।
कार्यालका अनुसार कार्यालयमा करदाताको जम्मा संख्या व्यवसायतर्फ ४३ हजार चार सय ३३ रहेकोमा व्यक्तिगततर्फ एक लाख पाँंच हजार ६ सय ६५ रहेको छ। यस आव साउनदेखि कात्तिक मसान्तसम्ममा व्यवसायतर्फ नौ सय १६ र व्यक्तिगततर्फ चार हजार पाँंच सय ८१ करदाताहरु दर्ता भएका छन् ।
नेपाल सरकारले यसवर्ष देशभरि मंसिर १ गतेदेखि ७ गतेसम्म १३ औं राष्टिय कर दिवस २०८१ मनाएको थियो। यो वर्षको दिवसको नारा कर प्रणालीको सार, लगानीको आधार रहेको थियो।