post-slider post-slider

भूकम्प प्रभावित क्षेत्रमा ‘भिआइपी’ भ्रमण : उपयोगी कि देखावटी?

Image
A A

काठमाडौं- शक्तिशाली भूकम्पबाट मानवीय र भौतिक क्षति पुगेको जाजरकोट तथा रुकुम पश्चिममा उद्धारकर्मी र स्वास्थ्यकर्मीहरूको टोलीका साथसाथै राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको ‘लर्को लागेको’ भन्दै कतिपयले त्यसको उपयोगितामाथि प्रश्न गर्दै आलोचना गरेका छन्।

विपदग्रस्त र तत्काल उद्धार तथा राहतको प्रतिक्षामा रहेकाहरूको जरूरी र तत्कालका  आवश्यक्ताहरूको सम्बोधन नभइ वा नगरी उच्चपदस्थ व्यक्तिहरूले गर्ने भ्रमण आलोचित हुने गरेका छन्।

एक महिनाअघि बझाङ केन्द्रविन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पले घरहरूमा पु¥याएको क्षति निरीक्षण गर्न दुई दिनपछि पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर सामाजिक सञ्जालमा चर्चित हुन पुगेको थियो।

र, त्यसले प्रशंसाका साथै चर्को आलोचना पनि पाएको थियो।

शुक्रबार मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पु¥याएको खबर पाएका प्रधानमन्त्री प्रचण्ड योपटक बिहानै केन्द्रविन्दु भएको ठाउँ पुगेर उद्धार र राहतमा तीव्रता दिन निर्देशन दिए।

प्रधानमन्त्रीले आफू चढेर गएको हेलिकप्टर पनि उद्धारमा प्रयोगका लागि छाडेर आफू नियमित उडानबाट काठमाडौं फर्किएको भन्दै कतिपयले उनको प्रशंसा पनि गरे।

यस्तो कार्यमा प्रधानमन्त्री घटनास्थल नै पुग्न जरूरी नभएका भन्ने कतिपयले तर्क गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेल पनि भूकम्पको चौथो दिन जाजरकोट पुगे।

पूर्वनिर्धारित युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्र जाने भनेर सार्वजनिक विज्ञप्ति जारी गरेर त्यसतर्फ गएका राष्ट्रपतिको निर्णयले पनि आलोचना निम्त्याएको छ।

भूकम्पले भत्काएका घरहरूको भग्नावशेष टेक्दै पीडितहरूमाझ पुगेका राष्ट्रपतिसँग सल्लाहकारहरूको टोली र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

राष्ट्रपति गएको हेलिकप्टर भूकम्प प्रभावित क्षेत्रमा अवतरण गराउन भूकम्पपीडितहरूको पाल हटाउनुपरेको भनेर पनि टिप्पणीहरू भएका छन्।

भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा पुगेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पनि सामाजिक सञ्जालमा आलोचना खेपिरहेकी छन्।

यसअघि २०७२ सालको भूकम्पमा पनि आफू राहत र उद्धारमा खटिएका कारण पश्चिम नेपालमा भएको जनधनको क्षतिमा चुप लागेर बस्न नसकेको रानाको भनाइ छ।

भूकम्प प्रभावित क्षेत्रमा गएको खर्च आफूले राज्यसँग नलिने बताएकी उनले भिडभाड गर्न चाहिँ जान नहुने बताइन्।

रानाले आफूले एक जनामात्रै सुरक्षाकर्मी लिएर गएको र फर्कँदासमेत आफैं गाडीको व्यवस्था गरेको बताएकी छन्।

रुकुम पश्चिमको सानी भेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्ट भूकम्प प्रभावित क्षेत्रमा विशिष्ट व्यक्तिहरूको भ्रमणलाई अन्यथा मान्दैनन्।

विशिष्ट व्यक्तिहरू आउँदा सहयोग नै भएको उनको भनाइ छ।

उनले भूकम्पपिडीतहरूलाई त्रिपाल र अन्य अत्यावश्यक सामग्री पु¥याउन भने अझै समस्या भइरहेको बताए।

विशिष्ट व्यक्तिहरू भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा जाँदा हेलिकप्टर वा जहाज चढेर जाने गरेका छन्। यसका आलावा उनीहरूको सुरक्षाका लागि ठूलै संख्यामा सुरक्षाकर्मी जानुपर्ने हुन्छ।

विशिष्ट व्यक्तिको भ्रमणका क्रममा इन्धन, सुरक्षाकर्मी व्यवस्थापनलगायतमा हुने खर्चले भूकम्प प्रभावित क्षेत्र  र पीडितहरूका लागि आवश्यक काम गर्न सकिने विपद व्यवस्थापनसम्बन्धी अध्येताहरूको भनाइ छ।

 

Tags: