दुर्गानन्द झा : जसलाई कानुन बदलेर राजा महेन्द्रले दिए मृत्युदण्ड
काठमाडौं- आज माघ १५। तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन।
मुलकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवाअवस्थामा रहेकाबेला उनलाई मृत्युदण्ड दिइएको थियो।
लोकतन्त्र र गणतन्त्रका लागि सहादत दिएको भन्दै दुर्गानन्दको स्मरण गर्दै हरेक वर्ष बलिदानी दिवस मनाइन्छ।
धनुषाको जटही हाल नगराईन नगरपालिकामा वि.सं.१९९४ वैशाख १४ गते दुर्गानन्दको जन्म भएको थियो।
बुबा देवनारयण झा र आमा सुकुमारीदेवी झाका एकमात्र छोरा थिए, उनी। सानै उमेरदेखि क्रान्तिकारी स्वाभावका दुर्गानन्दलाई मुलुकमा राजाको होइन जनताको शासन हुनुपर्ने लागेको थियो।
यहि सोँचका साथ दुर्गानन्द पञ्चायतविरोधी आन्दोलनमा होमिए। राजाका विरुद्ध खनिए। पञ्चायत र राजा भन्ने शब्द दुर्गानन्दको शब्दकोषमा विपरितार्थक नै थियो।
राजा र त्यतिबेलाका शासकहरुले आमनागरिकमाथि गर्ने असह्य दमनको खिलापमा सँधै लागिरहे दुर्गानन्द।
बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले २०१७ साल पुसमा जबजरजस्ती पञ्चायत लादेको उमेर कमै भएपनि दुर्गानन्दले बुझिसकेका थिए।
उमेरले युवा नै भए पनि राजनीतिक चेत उनमा आइसकेको थियो। जनताको भलाइका लागि कुन राजनीतिक व्यवस्था सहज हुनसक्छ भन्ने कुरा बुझिसकेका थिए, दुर्गानन्दले।
भारतका स्वतन्त्रता सेनानी भगत सिंह र चन्द्रशेखर आजादले उनलाई हदैसम्म प्रभावित गरेको थियो।
भगत र चन्द्रशेखरले भारतलाई अंग्रेज शासकको औपनिवेश हटाउन खेलेको भूमिकाले हौसाएको थियो, दुर्गानन्दलाई।
विद्यालय पढ्दै गर्दा २०१५ सालको प्रथम आमनिर्वाचनमा प्रजातन्त्रको पक्षमा होमिएका थिए, उनी।
विद्यालयको पढाइ सकेर उच्च शिक्षाका लागि भारततर्फ लागे। भारतमा अध्ययन गरिरहँदा उनको सम्पर्क नेपाली कांग्रेसका नेताहरुसँग भयो।
कांग्रेसका तत्कालीन नेताहरु भारतमा बसेर महेन्द्रविरुद्ध तानाबाना बुनि रहेका थिए।
सुरुमा निर्वासित जीवन बिताइरहेका महोत्तरी कांग्रेसका जिल्ला सचिव ज्ञानीशंकर गिरीसँग उनको सम्पर्क भयो।
त्यसपछि गिरीले दुर्गानन्दलाई त्यसबेलाका विघटित संसदका सदस्य सरोज कोइरालासँग उनको भेट गराए।
क्रान्तिकारी स्वभावका सरोजसँगको भेटले दुर्गानन्दको जीवनमा नयाँ मोड ल्याइदियो।
कांग्रेस नेताहरुको संगतले क्रुर पञ्चायती शासनविरुद्ध संघर्ष गर्न थप ऊर्जा प्रदान ग¥यो, दुर्गानन्दलाई।
२०१७ साल पुष १ गते बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेका महेन्द्रप्रति उनको आक्रोश छँदै थियो।
र, संयोगले जानकी मन्दिर दर्शन गर्न महेन्द्र जनकपुर आउने खबर दुर्गानन्दले थाह पाए ।
कांग्रेस नेताहरुको योजनाअनुसार दुर्गानन्द २०१८ माघ ८ गते बम बोकेर भारतबाट जनकपुर पुगे।
९ माघमा जनकपुर पुगेर जानकी मन्दिरमा पूजाअर्चना गर्ने महेन्द्रको कार्यक्रम रहेको उनले जानकारी पाएका थिए।
राजा महेन्द्रको सवारी हुने भएपछि जनकपुरको सुरक्षाव्यवस्था कडा पारिनु स्वभाविक नै थियो। अञ्चलाधीश, सुरक्षा निकायका प्रमुखहरुलाई महेन्द्रको सुरक्षा व्यवस्था मिलाउन भ्याइ नभ्याइ थियो।
योजनागत हिसाबले जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। जानकी मन्दिर परिसरसम्म सर्वसाधारण सहजै पुग्ने अवस्था थिएन। सुरक्षाकर्मीहरु चनाखो भएर बसेका थिए।
महेन्द्रको सवारीलाई लक्षित गरेर त्यहाँ अपनाइएको सुरक्षा व्यवस्थाबारे दुर्गानन्द वाकिफ नहुने कुरै थिएन। तर तमाम सुरक्षाका बाबजुद उनले छुट्टै योजना बनाइसकेका थिए।
त्यो योजनाका कारण पनि दुर्गानन्दले सुरक्षा व्यवस्थाको रेकी गरिसकेका थिए।
कडा र दुरुस्ता सुरक्षाव्यवस्थाको थोरैपनि परवाह थिएन, हिम्मती र साहसी दुर्गानन्दलाई।
बम बाकेर जानकी चोकमा महेन्द्रलाई कुरेर बसिरहेका थिए, उनी।
सुरक्षा निकायका खुफियाहरु पनि बेखबर थिए, बम फ्याल्ने उनको त्यो योजनाबाट।
साँझ ५ राजा महेन्द्रको जानकी मन्दिरमा सवारी भयो।
उनी चढेको ल्यान्डरोभर गाडी जानकी मन्दिरको प्राङ्गणमा रोकियो। गाडी रोकिनसाथ दुर्गानन्दले राजा महेन्द्रलाई निशाना बनाएर बम प्रहार गरे। तर, बम प्रहार गरेर राजा महेन्द्रको ज्यान लिने दुर्गानन्दको योजना सफल भएन।
संयोग नै थियो महेन्द्र चढेको गाडीमा प्वाल प¥यो, केही क्षति भयो। तर, महेन्द्र भने सुरक्षित रहे।
दुर्गानन्दले अर्का कांग्रेसी साथी अरविन्द ठाकुरसँग मिलेर जनकपुर विमानस्थलमै महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए।
राजा महेन्द्रमाथि बम प्रहार गर्ने जिम्मेवारी अरविन्दलाई दिइएको थियो। कडा सुरक्षाका कारण विमानस्थलमा बम प्रहार गर्ने योजना विफल भयो।
विमानस्थलमा बम प्रहार गर्ने योजना विफल भएको अवस्थामा दुर्गानन्दले जानकी मन्दिरमा महेन्द्रमाथि बम फ्याल्नुपर्ने थियो।
अरविन्द विमानस्थलबाटै पक्राउ परेपछि दुर्गानन्दले महेन्द्रको गाडीलाई लक्षित गरेर जानकी मन्दिरमा बम प्रहार गरेका थिए।
राजा महेन्द्रमाथि बम प्रहार गरेपनि तिक्षण र फुर्तिलो स्वभावका दुर्गानन्दलाई भने प्रहरीले पक्राउ गर्न सकेन।
र, उनी पुनः भारत पुग्न सफल भए। यता बमकाण्डमा संलग्न भएकोे आरोपमा प्रहरीले ५९ जनालाई पक्राउ गरिसकेको थियो।
बमकाण्डमा संलग्न नै नभएकालाई समेत प्रहरीले पक्राउ गरी कुटपिट तथा यातना दिइरहेको खबर दुर्गानन्दलाई भारतमा पुग्यो।
यो कुरा उनले सहन सकेनन् वा निर्दोषहरुले यातना पाउन् भन्ने कुरा उनको क्रान्तिकारी मनले मानेन।
तीन महिनापछि भारतको जयनगरबाट जनकपुर फर्किँदै गर्दा परवाहा स्टेशनबाट पक्राउ परे, दुर्गानन्द।
पक्राउ परेको दोस्रो दिन महोत्तरीको प्रकौलीस्थित सैनिक व्यारेकमा ल्याइ हेलिकप्टरले दुर्गानन्दलाई काठमाण्डौं पु¥याइयो।
२०१९ भाद्र १९ गते कुनै सुनवाइ नै नगरी त्यतिबेलाको विशेष अदालतले दुर्गानन्दलाई मृत्युदण्ड दिने फैसला सुनायो।
तत्कालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासले फैसला सुनाएको थियो। २०१९ फागुन २० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायको संयुक्त इजलासले त्यो फैसलालाई सदर ग¥यो।
अनि फेरियो कानुन
सर्वोच्चले फैसला सदर गरेको ठीक एक वर्षपछि २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी उनको हत्या गरियो।
दुर्गानन्दलाई फाँसी दिने फैसला अदालतले सुनाए पनि तत्कालीन राजा महेन्द्रको ठाडो आदेशले दुर्गानन्दलाई गोली हानेर हत्या गरिएको थियो।
गोली हानेर हत्या गरिएका दुर्गानन्दको उमेर त्यतिबेला २१ वर्षमात्र थियो।
त्यतिबेला ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने व्यवस्था मुलुकी ऐनले गरेको थियो। दुर्गानन्द मैथिल ब्राह्मण थिए।
ब्राह्मण्लाई मृत्युदण्ड दिन नहुने व्यवस्थाकै कारण १९९७ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्युदण्ड नदिइ आजीवन कारावासको सजाय सुनाइएको थियो।
तर दुर्गानन्दलाई मृत्युदण्ड दिनैपर्ने महेन्द्रको अडानका कारण मुलुकी ऐन नै संशोधन गरियो।
२०२० भदौ १ गते मुलुकी ऐनमा संशोधन गरेर दुर्गानन्दलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
मृत्युदण्ड दिइनुभन्दा पाँच दिनअघि माघ १५ गते दुर्गानन्दकी आमा सुकुमारी र श्रीमती काशीदेवी झालाई जनकपुरबाट काठमाण्डौं लगियो।
दुर्गानन्दलाई मृत्युदण्ड दिन कसाइपुग्दा आमा र श्रीमती दुवै जना कारागारकौ गेटमै उभिरहेका थिए।
मृत्युदण्ड दिइनुभन्दा केहि दिनअघिमात्र दुर्गानन्दले आफ्ना साथी अरविन्द र दलसिंह थापालाई भनेका थिए,‘म अब कलिल्यै नफर्किने गरी लामो यात्रामा जाँदै छु। तर चिन्ता नलिनु देशमा एक दिन गणतन्त्र अवश्य आउने छ।’
६ दशकअघि दुर्गानन्दले देखेको सपना अन्ततः पुरा भएको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको छ।
क्रुर पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यान दिएका दुर्गानन्दलाई सहिद घोषणा गर्न ५२ वर्ष लाग्यो।
२०७२ सालमा नेपाल सरकारले उनलाई सहिद घोषणा ग¥यो। दुर्गानन्द नेपालको पहिलो गणतान्त्रिक सहिदको नामले समेत चिनिन्छन्।
२०४६ सालको पहिलो जनओन्दोलनपछि मुलुकमा प्रजातन्त्र आइसकेपछि जानकी मन्दिर परिसरमा रहेको राजा महेन्द्रको शालिक रहेको स्थानमा दुर्गानन्दको प्रतिमा राख्न सरकारले प्रस्ताव गरिएको थियो।
तर महेन्द्रका छोरा तत्कालीन राजा वीरेन्द्रले सरकारको यो प्रस्ताव अस्वीकार गरेको बताइन्छ।
यद्यपि पहिलो जनआन्दोलनकै क्रममा आन्दोलनकारीले महेन्द्रको शालिक जानकी मन्दिर परिसरबाट भत्काइ दिए।
मुलुकमा गणतन्त्र ल्याउन आफ्नो ज्यानै गुमाएका दुर्गानन्दका श्रीमती काशीदेवीलाई पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीले समानुपातिक कोटाबाट सभासद बनाउनुबाहेक राज्यले खासै केहि गरेको देखिँदैन्।