post-slider post-slider

छठका लागि ४ करोडको केरा आयात

Image
A A

जनकपुरधाम- छठ पर्वका लागि जनकपुरधाममा मात्रै चार करोड मूल्य बराबरको केरा भारतबाट आयात गरिएको छ। 

छठ पर्वका ब्रतालुका लागि केरा आवश्यक मानिन्छ।

छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।

केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादन छठका लागि कुनै वर्ष पर्याप्त नभएको उनको भनाइ छ।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु पर्ने बाध्यता रहेको उनले बताए।

अध्यक्ष यादवका अनुसार झन्डै ७० ट्रक केरा भित्र्याइएका छन्।

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरूवाबाट भित्र्याइएको छ।

मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बंगाल, हाििजपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको छ।

व्यवसायीहरूका अनुसार छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको छ।

समितिका अध्यक्ष यादवका अनुसार एक हजार दुई सय घरी अटाउने १० चक्काको ट्रकमा केरा आयात हुन्छ।

प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रूपैयाँ पर्ने उनले बताए। 

बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजार रूपैयाँसम्म बिक्री गरिने उनले जानकारी दिए।

 

 

Tags: