post-slider post-slider

भिजिट भिसामा सेटिङ मिलाउने अध्यागमन अधिकृतसहित चार जना कारागार चलान

Image
A A

काठमाडौं - भिजिट भिसामा सेटिङ मिलाएर नेपालीलाई विदेश पठाएको आरोप लागेका अध्यागमन अधिकृतसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

न्यायाधीश कपिलमणि गौतमको इजलासले मंगलबार अध्यागमन अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशसँगै उनीहरूलाई कारागार पठाइएको छ।  

उक्त प्रकरणमा अदालतले अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ।

गीता शाहसँग पाँच लाख, पदम लामासँग एक लाख, विनोद कार्कीसँग दुई लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग सात-सात लाख र रविन अर्यालसँग एक लाख धरौटी माग गर्ने आदेश अदालतको छ।

भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध माघ १८ गते ठगी तथा संगठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

यस प्रकरणमा १२ जना अझै फरार छन्।

अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो।

Tags: