post-slider post-slider

'हिंसा' शब्दले संसदमा एमाले र माओवादी केन्द्र आमने-सामने

Image
A A

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ।

एमाले नेता एवम् सांसद योगेश भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा माओवादी केन्द्रलाई लक्षित गर्दै जनयुद्धमा 'हिंसा' भएको उल्लेख गरेका थिए।

उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए। उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनु पर्ने माओवादीको माग थियो।

सो शब्दबारे प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको सभामुख घिमिरेले रूलिङ गरेका थिए।

सभामुख घिमिरेको रूलिङलगत्तै माओवादीका प्रमुख सचेतक पाण्डेले सभामुखको रूलिङ बेठिक रहेको बताए। उनले माओवादीले सभामुखको रूलिङको विरोध गर्ने पनि बताए।

‘यो शब्दका बारेमा जुन किसिमको व्याख्या आएको छ, हाम्रो दल विरोध गर्दछ। यो बेठिक भएको छ। संविधानभन्दा माथि कोही हुँदैन। यसरी संविधान र कानुनको विपरीत शब्दहरू प्रयोग गर्दै जाने हो भने हामीलाई यसले कता लान्छ?,’ उनले प्रश्न गरे।

सचिवालयले दिएको व्याख्या आफूहरूलाई मान्य नरहेको पनि उनले बताए।

'हिँसा' शब्दको बहस लामो समय हुँदा माओवादी केन्द्र र एमालेका सांसदहरू आमेन-सामने भएका थिए। एमाले सांसद रघुजी पन्तले हिंसा शब्द संसदमा विगतमा पनि प्रयोग भएको उदाहरण दिँदै माओवादीले संसदमा अनावश्यक बहस गरेको आरोप लगाएका थिए।

माओवादीका सांसदहरूको निरन्तर अवरोधपछि बुधबारको बैठक स्थगित भएको छ। अर्को बैठक आगामी भदौ ३० गते आइतबार बस्नेछ।

Tags: