post-slider post-slider

‘आजु मिथिला नगरिया नेहाल सखिया’

Image
A A

जनकपुरधाम- ‘आजु मिथिला नगरिया नेहाल सखिया, चारू दुलहामा बड्का कमाल सखिया’

प्राचिन मिथिलाको राजधानी जनकपुरधामका साथै सम्पूर्ण मिथिलाञ्चलमा यतिबेला यही र यस्तैखाले गीतहरू गुन्जिइरहेका छन्।

त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्या नरेशकी छोरी सीताको विवाह हुँदै गर्दा पुल्कित मिथिलावासीले यस्तै गीतहरू गाएका थिए।

मर्यादा पुरुषोत्तम राम विवाहका लागि जनकपुरधाम पुग्दा सम्पूर्ण मिथिला नै उल्लासमा डुबेको थियो। हुनत दशरथका चारै छोरा प्रतिभाशाली र सुन्दर थिए। 

तर, जेठो छोरा रामको कुरा नै भिन्दै थियो। मैथिली भाषामा माथि उल्लिखित गीतको हरफले त्यही इंगित गरेको छ।

त्रेता युगमा भगवान राम र माता सीताको विवाह सम्पन्न भएको मान्यताअनुुरूप आइतबार जनकपुरधाममा विवाहोत्सव मनाइँदैछ।

साताव्यापी कार्यक्रमका साथ मनाइने रामजानकी विवाहोत्सवअन्तर्गत आज मुख्य विधि विवाहोत्सव मनाइँदैछ।

जानकी मन्दिरको प्राङ्गणमा राति मिथिला परम्पराअनुसार प्रतिकात्मक रूपमा तयार पारिएको राम र सीताको विवाह सम्पन्न हुनेछ। मिथिलाको वैवाहिक संस्कारका सबै विधिका साथ राम र सीताको विवाह हुनेछ।

विवाहका विधिहरू भइरहँदा विवाहोत्सवमा सहभागी हुन आएका श्रद्धालुहरू रातभर जाग्राम बस्ने गर्छन्।

जन्ती आउँदो हँस्यौली ठट्यौली गर्ने मिथिलाको परम्परा रहिआएको छ। राम जानकी विवाहोत्सवमा पनि यसखाले ठट्यौलीहरू हुने गरेको छ।

जन्तीको रूपमा भारतको अयोध्याका साथै विभिन्न स्थानबाट आएका साधुसन्त र जनकपुवासीबीच हँस्यौली ठट्यौली हुने गर्दछ।

वैवाहिक कार्यक्रमअघि आज दिउँसो स्वयम्भर कार्यक्रम हुनेछ। जानकी मन्दिर र राम मन्दिरबाट भगवानको डोला गाजाबाजासहित रङ्गभूमि मैदान ल्याइनेछ।

त्यहाँ स्वयम्भर कार्यक्रम समापन भइसकेपछि नगर परिक्रमा गर्दै भगवानको डोला जानकी मन्दिर प्राङ्गण पुग्नेछ। र, त्यसपछि वैवाहिक कार्यक्रम सुरू हुनेछ।

स्वयम्भर एवंं नगरपरिक्रमामा सरकारी निकाय, सामाजिक संघसंस्था, स्थानीय तहलगायतका तर्फबाट झाँकी प्रदर्शन हुने गरेको छ।

स्वयम्भर कार्यक्रममा प्रदेस सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका उच्चपदस्थ अधिकारी, नागरिक सामाज, संघ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहने गरेको छ।

विवाहोत्सवको मुख्य कार्यक्रम आज भए पनि यसका विधिहरू एक साताअघि नै सुरू भइसक्छ। यसपालि मंगलबारदेखि विवाहोत्सवको कार्यक्रमहरू सुरू भएको थियो।

नगर दर्शन, फूलबारी लीला, धनुषयज्ञ, तिल्कोत्सव, मटकोरलगायतका विधिहरू सकिएर आज विवाहोत्सवको प्रमुख कार्यक्रम हुन लागेको हो।

वैवाहिक कार्यक्रम सकिएपछि सोमबार रामकलेवा अर्थात जन्तीहरूलाई जानकी मन्दिरले बिदाइ गरेसँगै यसपालिको विवाह पञ्चमी सकिनेछ।

रामजानकी विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम पुगेका छन्।

त्यस्तै विवाहोत्सवको मुख्य कार्यक्रम आज हुने भएकाले कतिपय श्रद्धालुहरू आउने क्रम अझै जारी छ।

बाहिरबाट आएका तीर्थालुहरूका लागि जनकपुरधामको विभिन्न ठाउँमा निःशुल्क वास र भोजनको व्यवस्था गरिएको छ।

स्थानीय तहका साथै विभिन्न युवा क्लब, सामाजिक संघसंस्था, व्यापारिक प्रतिष्ठान, निजी विद्यालयलगायतले श्रद्धालुहरूका लागि निःशुल्क वास र भोजनको व्यवस्था गरेका छन्।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले यसपालि विवाहपञ्चमीमा अरू वर्षहरूको तुलनामा बढी श्रद्धालु जनकपुर पुगेको बताए।

विवाहपञ्चमीको संंयोजन गर्दै आइरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले यो पर्व सफल पार्न सबै निकायका तर्फबाट उल्लेख्य सहयोग प्राप्त भएको बताएका छन्।

 

 

Tags: