post-slider post-slider

होटलमा जागिर लगाइदिने भनेर रसियाको आर्मीमा पठाउने ट्राभल्स सञ्चालक पक्राउ

Image
A A

काठमाडौं- होटलमा जागिर लगाइदिने भनेर रसियाको सेनामा पठाएर ठगी गर्ने दुई जना ट्राभल्स सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अलास्का ट्राभल्सका सञ्चालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेरबहादुर राईलाई पक्राउ गरेको हो।

कार्यालयबाट खटेको प्रहरीको टोलीले सुनार र राईलाई काठमाडौंको माइतीघर र थापागाउँबाट पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

होटलमा आकर्षक तलब पाइन्छ भन्दै उनीहरूले शंकर कार्की, राजन राई र विकास राईसँग प्रति व्यक्ति ६ लाख रूपैयाँ लिइ रसिया पठाएका थिए।

रसिया पुगेपछि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिले थप ८ सय डलर दिएपछि आर्मीको लागि तालिम गर्नुपर्ने बताएका थिए।

आफूहरू आर्मीको लागि नभएर होटलमा काम गर्न आएको बताएपछि त्यो व्यक्तिले होटलमा कुनै काम नभएको र आर्मीको लागि बोलाएको जवाफ दिएका थिए।

रसियाको आर्मीमा काम नगर्ने भनेर शंकर नेपाल फर्किएर आफूहरूसँग ठगी भएको भन्दै अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएपछि प्रहरीले राई र सुनुवारलाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए।

प्रवक्ता रेग्मीका अनुसार एसएलसीमात्र उतीर्ण रहेका शंकरको सबै नक्कली कागजात ट्राभल्सवालाले नै बनाइदिएको थियो।

पक्राउ परेका राई र सुनुवारलाई मानव तस्करी गरी ठगी गरेको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले जानकारी दिए।

शंकरसँगै गएका राजन राई र विकास राई भने रसिया आर्मीमा भर्ना भएको बुझिन आएको रेग्मीले बताए।

नक्कली कागजातको आधारमा सेटिङ मिलाइ बेरोजगार युवाको तस्करी गरी झुुटा प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्नहरूबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

 

Tags: