परराष्ट्र मन्त्री चीनमा, प्रधानमन्त्री ओली १७ गते जाँदै
काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन्।
चीनको औपचारिक भ्रमणका लागि उनी बिहीबार मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन्।
परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो। उनलाई परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीले बिदाइ गरेका थिए।
मन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा भेट हुनेछ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि उनी चीन गएकी हुन्। प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन्।
प्रधानमन्त्री ओली ४० जनाको टोली लिएर चीन भ्रमणमा जान लागेका छन्। चीन भ्रमणका दौरान बिआरआई परियोजनाबारे सम्झौता हुने छ। बिआरआई परियोजना ऋणमा स्वीकार गर्ने वा अनुदानमा स्वीकार गर्नेबीच सत्तारुढ गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा एमालेबीच साझा धारणा बनेको छ।
बिआरआई परियोजनामा संशोधनसहित सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।