post-slider post-slider

प्रधानन्यायाधीशमा श्रेष्ठ सर्वसम्मत अनुमोदित

Image
A A

काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ।

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदले सिफारिस गरेको श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतबाट अनुमोदन गरेको हो।

समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो।

अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्ने छन्।

श्रेष्ठविरूद्ध समितिमा तीनवटा उजुरी परेका थिए। उजुरीकर्ताहरूसँगको छलफलपछि सोमबारै श्रेष्ठको सुनुवाइ भएको हो।

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्। २०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए।

त्यसको ६ वर्षमा जिल्ला न्यायाधीश भएका उनी २०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए। 

२०७० मा पुनरावेदन अदालत पोखराको कायममुकायम मुख्य न्यायाधीश भएका उनी २०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश नियुक्त भए।

त्यसको करिब दुई वर्षपछि २०७३ साउन १७ मा श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।

उनले २०८१ असोज २० मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने छन्।

प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ।

 

Tags: