post-slider post-slider

कोसीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

Image
A A

काठमाडौं- कोसी प्रदेसका मुख्यमन्त्री हिक्कमत कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन्।

बिहान ११ बजे बस्ने प्रदेससभा बैठकबाट कार्कीले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार प्रदेससभा बैठक बोलाइएको छ।

यसअघि बिहीबारको बैठकमै विश्वासको मत लिने भनिए पनि कार्की प्रदेससभाबाट बाहिरिएपछि बैठक स्थगित भएको थियो।

साँझ ५ बजे आधा घन्टाका लागि स्थगित भएको प्रदेससभा बैठक कार्की अनुपस्थित भएपछि बस्न सकेन।

बिहीबारको बैठकमा मुख्यमन्त्री कार्कीले रोस्ट्रमबाट उभिएर विश्वासको मत मागेका थिए। 

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख बाबुराम गौतमले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए।

तर, प्रदेससभा परिसरबाट बाहिरिएका मुख्यमन्त्री कार्की नआएपछि राति ८ बजे सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराइएको थियो।

विश्वासको मत मागेर मुख्यमन्त्री कार्की ‘गायब’ भएपछि विपक्षी दललहरू उनी ‘भागेको’ आरोप लगाएका थिए।

प्रदेससभामा विश्वासको मत मागिसकेका मुख्यमन्त्री कार्कीले शुक्रबारसम्म बैठक स्थगित गर्न आग्रह गरेका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिन तयारी नपुगेको भन्दै उनले बैठक स्थगित गर्न सभामुखसँग आग्रह गरेको एमालेका सांसदहरूले बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी मन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो।

९३ सदस्यीय प्रदेससभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक हुन्छ।

प्रदेससभामा अहिले सत्तारुढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ सांसदको मात्र समर्थन कार्कीलाई छ।

प्रतिपक्षमा गठबन्धन दल नेपाली कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा (एकीकृत समाजावदी) का ४ र जसपाका १ गरी ४७ प्रदेस सांसद छन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले प्रदेशसभा बैठकमा पेस गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि प्रदेसबाट सञ्चित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश स्वतः विफल हुनेछ।

 

Tags: