post-slider post-slider

त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ जनाको भारतीय टोली नेपालमा

Image
A A

भैरहवा -  चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएका दुई वटा बस र यात्रुहरूको खोजीका लागि भारतबाट १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ। 

रुपन्देहीको बेलहिया नाका हुँदै शुक्रबार राति १२ बजे ४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञसहितको टोली नेपाल आएको हो। त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली चार वटा गाडीमा आएका हुन्। टोलीले उद्धारमा चाहिने उपकरणसमेत ल्याएको छ।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतको उक्त टोली राती १२ बजे बेलहिया नाका हुँदै नेपाल आएको हो। सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरूलाई स्वागत गरी भैरहवामा राखेको थियो। उनीहरू राति भैरहवामा बास बसेर बिहानै चितवनतर्फ प्रस्थान गरेका छन्।

गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार टोली शनिबार नै घटनास्थल पुगेर खोजी थाल्नेछ।

टोलीमा राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञ छन्।

टोलीले उद्धारका लागि चाहिने डोरी, पानीभित्र प्रयोग हुने सञ्चार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानीभित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए।  

गत शुक्रबार पहिरोसँगै सिमलतालमा दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए।

अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ। दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए। अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन। 

Tags: