post-slider post-slider

देउवा–शेखर ‘खटपट’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि संसदीय दलको नेता फेर्न चर्चा चलाउँदै उनकै समूहका नेता शेखर कोइराला मौन बसे।

महामन्त्री थापाले पार्टीको केन्द्रीय समिति बैठकमै दलको नेता फेर्ने विषय उठाएका थिए। यो विषयमा उनले आफ्नै समूहको दह्रिलो साथ पाएनन्।

त्यो बेला कोइरालाको मौनतालाई धेरैले पार्टी सभापति शेरबहादुर देउवाप्रति ‘सफ्ट कर्नर’ ठानेका थिए।

खासगरेर महामन्त्री थापाले संसदीय दलको नेता फेर्नुपर्ने भनिरहेका बेला कोइरालाको मौनतालाई संस्थापननिकट नेताहरूले देउवाप्रति उनको ‘सफ्ट कर्नर’ रहेको बताएका थिए।

‘महामन्त्रीजीले भन्दैमा संसदीय दलको नेता परिवर्तन हुन सम्भव छैन। शेखरजीको पनि ‘सफ्ट कर्नर’ सभापतिजीतिर नै छ,’ संस्थापननिकट एक सहमहामन्त्रीले भनेका थिए।

संस्थापननिकट नेताहरूले भनिरहेजस्तो इतरसूमहका नेता कोइरालाको ‘सफ्ट कर्नर’ देउवाको लागि रहेकोमा आशंका देखिएको छ।

बुधबार धुम्बराही पुगेर सभापति देउवालाई भेटेका नेता कोइरालाले पार्टीमा एकलौटी हिँडिरहने हो भने सहकार्य हुन नसक्ने सुनाए।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका उनले सभापति देउवासँग असन्तुष्टि पोखे।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई लिएर बिहान ११ बजे धम्बराही पुगेका कोइरालाले सभापति देउवासँग करिब पौने घन्टा कुराकानी गरेका थिए।

त्यसक्रममा उनले सभापति देउवाले निरन्तर एकलौटी रूपमा निर्णय गर्ने र विधानविपरित कार्य गर्ने गरिरहेको भन्दै असन्तुष्टि पोखे।

‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरित कार्य गर्ने कुरा रोकिएन। न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग संवाद हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने,‘तपाईंको निर्णयले पार्टीभित्र समान न्याय हुन सकेको छैन। राष्ट्रिय राजनीतिमा पनि तपाईंको निर्णयले कांग्रेसलाई हानी पु¥याइरहेको छ।’

सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरूको चयनमा समेत छलफल नभएको कोइरालाको गुनासो थियो।

त्यस्तै कोसी प्रदेसमा सरकार गठनका विषयमा पार्टीले लिएको कदम पनि गलत देखिएको उनको भनाइ थियो। कोसीमा सरकार गठन प्रक्रियामा लिइएको निर्णयले पार्टीलाई बदनाम गराउने काममात्र भएको कोइरालाले बताएका थिए।

‘कोसी प्रदेसमा सरकार गठनको विषयले कांग्रेसको बदनामात्रै भयो। तपाईंको गलत निर्णयका कारण एकपछि अर्को गरी कांग्रेस अपमानित हुने अवस्था बनेको छ,’ कोइरालाले भने।

कोसीमा सरकार गठन प्रक्रियामा सभामुखलाई सहभागी गराएदेखि नेता कोइरालाले आपत्ति जनाउँदै आएका छन्।

सरकार गठनमा सभामुख सहभागी भएपछि उनले यसलाई संविधानविपरित भनेका थिए।

नेता कोइरालाले सभापति देउवाले भातृ संस्थाहरूको गठन र विस्तारमासमेत परामर्श नगरिएको भन्दै आक्रोश पोखेका छन्।

‘तपाईंले गलत र्दा मैले पहिले पनि सच्चिएर अघि बढ्न भनेको हुँ। तपाईं रोकिनुभएको छैन, सच्चिनु भएको छैन। तपाईं नसच्चिने हो भने भन्नुस्, जे मन लाग्छ, त्यही गनुस्। मलाई तपाईंसँग सहकार्य गर्नु छैन,’ कोइरालाले भनेका थिए।

जवाफमा देउवाले मिलाएर गर्ने भनेका थिए। ‘तपाईं रिसाउनुभएन। मिलाएर गर्ने हो। म गरिहाल्छु। ठीक हुन्छ,’ देउवाले भनेका थिए।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारदेखि सुरू हुँदैछ। बैठकअघि मंगलबार बसेको इतर समूहको भेलामा बैठकमा उठाउने एजेन्डाबारे छलफल भएको थियो।

इतर समूहको बैठकले कांग्रेसले नै भ्रष्टाचारविरूको अभियान रोकेको निष्कर्षसमेत निकालेको थियो।

आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरूद्धको अभियान रोकिएको शेखर समूहको निष्कर्ष थियो।

त्यस्तै सरकारले जनतामा आशा जगाउन नसकेको निष्कर्ष इतर समूहको बैठकले निकालेको थियो।

 

 

 

Tags: