post-slider post-slider

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, देश छोडेको दाबी

Image
A A

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको दाबी गरिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बिबिसी, अल्जजिरा लगायतले स्‍थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचार सार्वजनिक गरेका छन्।

हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ बाट सेनाको हेलिकप्टर चढेर सुरक्षित स्थानमा गएको पनि ती समाचार संस्थाहरूले लेखेका छन्।

उनी देश छाडेर हेलिकप्टरमा भारततर्फ उडेको दाबी गरिए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

‘उनी र उनकी बहिनीले सुरक्षित ठाउँका लागि गणभवन छाडेका छन्,’ स्रोतले एएफपीसँग भन्यो, ‘उनले सम्बोधन गर्न चाहेकी थिइन्। तर त्यसका लागि अवसर भने पाइनन्।’

सोमबार प्रदर्शनकारीहरू पनि प्रधानमन्त्री निवासमा छिरेको बंगलादेशको समाचार दैनिक प्रोथोम अलोलाई उदृत गर्दै अल्जजिराले समाचारमा लेखेको छ।

बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तीमा ९१ जना मारिएका छन्।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ। कर्फ्यू अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहने छ।

बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भएर शेख हसिनाको राजीनामाको माग गरिरहेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए।

बंगलादेशमा हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ। आन्दोलनरत् विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न खोजिरहेका छन्।

यसअन्तर्गत सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो।

Tags: