post-slider post-slider

‘कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन?’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासनका कारण नागरिक आक्रान्त भएको बताएका छन्।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको बताए।

एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको थापाको भनाइ छ।

कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन् भनेर उनले प्रश्न गरे।

महामन्त्री थापाले सुनदेखि एनसेलसम्मका सबै काण्डहरू कुशासनसँग जोडिएको जिकिर गरे।

‘नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन्। एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ। केही समयअघिसम्म एउटा काण्ड जताततै थियो। सुनकाण्ड थियो, नक्कली भुटानी शरणार्थी प्रकरण थियो। अब एनसेल काण्ड आयो,’ उनले भने,‘अब केही दिन यही चल्छ। यो सेलाउन पाएको छैन, अर्को आउँछ। यो काण्ड कुशासनसँग जोडिएको छ। शासन हामीले गरिरहेका छौं। सुशासन हाम्रो वाचामात्रै होइन? त्यसकै निम्ति जन्मिएको पार्टी हो। त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनिरहेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन्? यति धेरै काण्डहरू किन भइरहेका छन्?’

 

Tags: