post-slider post-slider

गोली हानेर बाराबाट प्रहरीले समात्यो भारतीय ‘सुटर’

Image
A A

काठमाडौं-प्रहरीले बाराबाट गोली हानेर एक जना भारतीय ‘सार्प सुटर’ लाई नियन्त्रणमा लिएको छ।

बाराको बिश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइटनजिकबाट प्रहरीले भारत बिहार मोतिहारी जिल्ला छैडादानो पञ्चायत तिनकुनी बस्ने ३२ वर्षीय सुजितकुमार सिंहलाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा नियन्त्रणमा लिने खोजेपछि सिंहलगायतका व्यक्तिहरूले प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङ गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिधराम न्यौपानेले जानकारी दिए।

उनले पक्राउ परेका सिंह विगत पाँच वर्षदेखि बारा र रौतहट क्षेत्रमा घटेका विभिन्न  घटनामा गोली हानी हत्या गर्ने ‘सार्प सुटर’ रहेको बताए।

जवाफी कारबाहीका क्रममा प्रहरीले चलाएको सिंहको घुँडामुनि लागेको न्यौपानेले जानकारी दिए।

मंगलबार राति सिंहलगायतका व्यक्तिहरू हतियारसहित नेपाल प्रवेश गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

गोप्य सूचना पाएको प्रहरीको टोली चेकजाँचका लागि बिश्रामपुरस्थित डम्पिङसाइटनजिक खटिएका थिए।

चेकजाँच गर्ने क्रममा सिंहले गोली प्रहार गरेपछि प्रहरीले पनि गोली चलाउनुपरेको डिएसपी न्यौपानको भनाइ छ।

सिंहको साथबाट एक थान घरेलु हतियार, फायर भएको गोलीको खोका एक था र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सिंहलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Tags: