post-slider post-slider

भारतको सौर्य मिसन लक्षित गन्तव्यमा

Image
A A

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले सूर्य अवलोकनका लागि पठाएको अन्तरिक्ष मिसन शनिबार अपराह्न निर्धारित लक्ष्यमा पुगेको बताएका छन्।

अन्तरिक्ष अनुसन्धान निकाय इसरोले प्रक्षेपण गरेको चार महिनापछि आदित्य– एल १ आफ्नो गन्तव्यमा पुगेको हो।

आफ्नो मिसन सफल भएसँगै प्रधानमन्त्री मोदीले भारतले इतिहास रचेको बताएका छन्।

‘हाम्रा वैज्ञानिकहरूको अथक समर्पणको परिणामस्वरूप सबैभन्दा जटिल अन्तरिक्ष मिसन सफल भएको छ। यो असाधारण उपलब्धिको प्रशंसा गर्न म हाम्रो राष्ट्रसँगै छु। मानवजातिको हितका लागि विज्ञानका नयाँ सीमानहरूसम्म पुग्ने लक्ष्यमा हामी लागिरहन्छौं,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यान सुरक्षित अवतरण गरेर इतिहास बनाएको केही दिनमै गत सेप्टेम्बरमा यो अन्तरिक्ष मिसन प्रक्षेपण गरिएको थियो।

सूर्यको अध्ययनका लागि पठाइएको मिसनको नाम पनि सूर्यकै नाममा राखिएको छ।

आदित्यको अर्थ संस्कृतमा सूर्य हो।

एल १ चाहिँ पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ र त्यहाँ रहेका बस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन्।

उक्त स्थानमा छोडिने भारतीय भू–उपग्रहले पाँच वर्षसम्म त्यहाँ रहेर सूर्यको अध्ययनमा सघाउने अपेक्षा गरिएको छ।

आफू अडिने स्थानमा पुगेपछि आदित्य एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ।

यो बिन्दुबाट यसले सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलकोन गर्नेछ।

आदित्य एल १ ले गर्ने सूर्यको गहन अवलोकन र अध्ययनबाट हाम्रो वैज्ञानिक बुझाइ अझै परिकृष्ट हुने र सौर्यमण्डलमा सूर्यको भूमिकाबारेको बुझाइ पनि सुदृढ हुने अपेक्षा गरिएको छ।

सूर्यको अध्ययन गर्ने यो पहिलो मिसन भने होइन।

यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी इएसएले पनि उस्तै उद्देश्यका लागि सौर्य मिसन पठाइसकेका छन्।

भारतको चेन्नईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थि अन्तरिक्ष यान प्रक्षेपण केन्द्रबाट यो यानलाई अन्तरिक्षमा पठाइएको थियो।

भारतीय अन्तरिक्षयान पठाइएको पृथ्वी र सूर्यको गुरुत्व शक्ति सन्तुलन हुने स्थान १५ लाख किलोमिटर टाढा छ।

उक्त दूरी पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा करिब चार गुणाले बढी हो।

तर, त्यो पृथ्वीबाट सूर्यसँगको दूरी चाहिँ एक प्रतिशतमात्रै हो। सूर्य पृथ्वीबाट करिब डेढ करोड किलोमिटर टाढा छ।

भारत सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो। यसको लागत करिब ४ करोड ६० लाख डलर लागेको जनाइएको छ।

भारतको अन्तरिक्ष निकायले यसका लागि वास्तविक रूपमा जम्मा कति लागत लाग्यो भने यकिन विवरण सार्वजनिक गर्न बाँकी नै छ र यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको छ।

इसरोले गहिरो अन्तरिक्ष मिसनका लागि कम शक्तिशाली रकेटहरूको प्रयोग गर्छ र यानको अगाडिका थप अन्तरिक्ष यात्राका लागि गुरुत्वाकर्षण बलको प्रयोग गर्छ।

 

Tags: