post-slider post-slider

शंकाको घेरामा छानबिन समिति!

Image
A A

काठमाडौं- मलेसियन कम्पनी आजियाटाले एनसेलमा आफ्नो हिस्साको ८० प्रतिशत सेयर बिक्रीका लागि ‘डिल’ गरिरहँदा कोप–२८ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइटेड अरब इमिरेट्स (युएई) मा थिए।

प्रचण्ड युएईमै छँदा आजियाटाले १४४ करोड डलरमा खरिद गरेको एनसेलको सेयर मात्रै ६ अर्ब नेपाली रूपैयाँमा नेपाली मुलका सिंगापुरका नागरिक सतिशलाल आचार्य संस्थापक रहेको स्पेक्ट्रलाइट युकेले बिक्री गरिसकेको खबरले यता हल्लीखल्ली मच्चिसकिएको थियो।

एनसेलको सेयर खरिदबिक्रीमा राज्यलाई तिर्नुपर्ने राजस्व छलिदेखि यो कार्यमा प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रमुख नेताहरू नै संलग्न रहेको आरोप लाग्यो।

प्रमुख प्रतिपक्ष नेकपा एमाले यो प्रकरणमा ‘मौन’ रहँदा सत्तारुढ दलकै कतिपय नेता र प्रतिनिधिसभाका कतिपय सांसदहरूले एनसेल सेयर खरिदबिक्रीमा ठूलो ‘चलखेल’ भएको दाबी गरे।

एनसेल सेयर खरिदबिक्रीका विषयमा सबैभन्दा बढी मुखरित भए सर्लाही–४ बाट निर्वाचित स्वतन्त्र सांसद अमरेशकुमार सिंह।

अमरेशले सेयर खरिदबिक्रीलाई मान्यता दिन नहुने भन्दै सर्वोच्चमा रिट हाले नै, स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका परिवार पनि यो प्रकरणमा संलग्न रहेको दाबी गरे।

एनसेल खरिदबिक्रीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा प्रत्यक्षरूपमै संलग्न रहेको प्रमाण आफूसँग रहेको अमरेशले बताएका छन्।

यसका साथै प्रचण्ड स–परिवार सिंगापुर गएको बेला आजियाटाबाट एनसेलको सेयर खरिद गरेका  आचार्यकै घरमा बसेको अमरेशको प्रमाण पनि आफूसँग रहेको अमरेशको भनाइ छ।

युएईबाट फर्किएलगत्तै सत्ता गठबन्धनको बैठक बसेर प्रचण्डले एनसेल सेयर खरिदबिक्रीका विषयमा छानबिन गर्न समिति गठन गर्ने निक्र्यौलमा पुगे।

प्रधानमन्त्री प्रचण्डले तत्कालीन महालेखा परीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वमा गठन गरेको छानबिन समिति यतिबेला शंकाको घेरामा परेको छ।

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड सांसदहरूको प्रश्नबाट घेरिए नै टंगाल नेतृत्वको छानबिन समितिमाथि पनि प्रश्न उठ्यो।

महालेखा परीक्षक भएका बेला टंकमणिले एनसेलको पक्षमा काम गरेको आरोप छ। र, एनसेलकै पक्षमा काम गर्ने व्यक्तिको नेतृत्वमा छानबिन समिति बनाइएको भन्दै पन्तले असन्तुष्टि व्यक्त गरे।

महालेखा परीक्षक भएका बेला तयार पारिएको प्रतिवेदनमा टंकमणिले विवरण हटाएर एनसेलको पक्षमा काम गरेको भन्दै अहिले उनैलाई छानबिन समितिको संयोजक बनाउनु गलत रहेको पन्तले बताए।

उनले एनसेलको पक्षमा काम गर्ने व्यक्तिलाई संयोजक बनाएकोमा सार्वजनिक रूपमा प्रश्न उठेकाले समिति विघटन गर्नुपर्ने उल्लेख गरे।

पन्तले भने,‘छानबिन समितिको संयोजकमाथि प्रश्न उठेको छ, यसलाई डिजल्भ गरेर न्यायिक समिति गठन गरियोस्। छानबिन समितिमाथि नै प्रश्न उठ्यो। टंकमणि महालेखा परीक्षक हुँदा एनसेललाई छुट दिएको भन्ने सार्वजनिक रूपमा प्रश्न उठिसकेको थियो।’

छानबिन स्वच्छ हुने विषयमा शंका रहेकोमा उनले पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गर्न सुझाव दिए।

‘सरकारले गठन गरेको छानबिन आयोग साँचो अर्थमा शुद्ध छ भन्ने देखिनप¥यो। अहिले गठन गरेको समितिको संयोजक शुद्ध छ? सरकारले पुष्टि गर्नुप¥यो,’ पन्तले भने,‘अहिलेको छानबिन समिति विघटन गरेर पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुप¥यो।’

टंकमणि नेतृत्वको छानबिन समितिप्रति पन्तले मात्र नभएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले पनि प्रश्न उठाएका छन्।

समितिको बैठकमा सरकारी नियामक निकाय हुँदाहुँदै किन छुट्टै छानबिन समिति बनाइएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे।

एनसेल सेयर खरिदबिक्रीका विषयमा छानबिन गर्न सरकारले छुट्टै समिति बनाएर सरकारी निकायलाई निकम्मा बनाउने काम गरेको लामिछानेले आरोप लगाए।

‘दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालयलगायतले के कारणले काम गर्न सकेनन् र कुन कानुनले रोक्यो र यहाँ समिति बनाउनुप¥यो? अर्बौंको खरिदबिक्री हुँदा राज्यलाई कर बुझाउनुपर्छ भन्ने स्पष्ट छ। त्यो कानुनअनुसार हुनुपर्छ भन्ने कुरा स्पष्ट हुँदाहुँदै पनि गडबड किन भयो,’ उनले भने।

प्रचण्डको बिलौना– मेरा छोरीमाथिको आरोप व्यवस्थामाथिकै हमला 

स्वतन्त्र सांसद अमरेशले एनसेल खरिदबिक्रीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगाको प्रत्यक्ष ‘संलग्नता’ रहेको सार्वजनिक रूपमा दाबी गरेका छन्।

विभिन्न सञ्चारमाध्यमसँगका कुराकानीमा उनले यो प्रकरणमा गंगाको संलग्नता भएको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन्। र, सबै प्रमाण अदालत र सञ्चारकर्मीमाझ सार्वजनिक गर्ने उनको भनाइ छ।

अमरेशले उठाइरहेको यही प्रश्नको घेरामा प्रधानमन्त्री प्रचण्ड समितिको बैठकमा परे। सांसदहरूले एनसेल खरिदबिक्रीमा प्रधानमन्त्रीको परिवार जोडिएको छ कि छैन भनेर प्रचण्डलाई प्रश्न गरे।

एनसेलको खरिदबिक्रीको विषयमा प्रधानमन्त्रीकाके परिवारका सदस्य नै जोडिएको भन्ने कुरा आएको भन्दै सांसदहरूले प्रश्न गरेका हुन्।

सत्तारुढ कांग्रेस सांसद अजयकुमार चौरसियाले एनसेलको खरिदबिक्रीको मूल्यमा ठूलो अन्तर रहेको बताए।

‘एनसेल खरिदबिक्रीका धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ, छानबिन होस्,’ चौरसियाले भने।

कांग्रेसकै सांसद अम्बिका बस्नेतले एनसेल सेयर खरिदबिक्रीमा नेताको परिवार जोडिएको कुरा सार्वजनिक भइरहेकाले त्यस तहबाट पनि वास्तविकता छानबिन हुनुपर्ने बताए।

प्रमुख प्रतिपक्षी एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल खरिदका क्रममा प्रधानमन्त्रीको परिवारलाई जोडिएको विषयमा प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेका थिए।

प्रधानमन्त्री प्रचण्ड एनसेल खरिदबिक्रीमा आफ्नो परिवारलाई मुछिएकोप्रति आपत्ति जनाउँदै व्यवस्थामाथिकै हमला भएको बताए।

छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण गरेको भन्दै उनले त्यो व्यवस्थाविरूद्धकै हमला भएको दाबी गरे।

प्रचण्डले भने,‘मेरो परिवारमा सदस्य घट्दै गएर अब तीन जनामात्र बाँकी छौं। एउटी छोरी रेणु दाहाल भरतपुरको मेयर, उ त उतै बढी इन्गेज छ। अर्की छोरी मेरो सचिवालयमा काम गरिरहेको छ। बिचरा त्यो कस्ती छ, तपाईंहरूले थाहा पाउनुभएकै छ। उसलाई जोडेर बनाएको छ, कहिले उचालेको छ भन्दा म के ठान्छु भने यो संविधान, सिस्टम, गणतन्त्र र लोकतन्त्रविरूद्धको हमला हो। यसमा म एकदम क्लियर छु।’

आफूमाथि हमला गरेर नराम्रोसँग बेइज्जत नगरेसम्म यो व्यवस्था उल्टिँदैन भनेर एकथरि लागिपरेको उनले बताए।

प्रचण्डले यस्तो बताएपछि कांग्रेस सांसद इश्वरी न्यौपानले प्रधानमन्त्रीको परिवारसँग जोडिएपछि गणतन्त्रमाथि प्रहार भयो भनेर बचाउ गर्ने कि छानबिन गर्ने भनेर प्रश्न गरिन्।

बेलायतमा कम्पनी खडा गर्नेलाई राम्रोसँग चिनेको छु

आजियाटाको ८० प्रतिशत सेयर खरिद गर्ने स्पेक्ट्रलाइट युकेका सञ्चालक सतिशलाल आचार्यलाई आफूले राम्ररी चिनेको प्रचण्डले बताए।

एनसेल खरिदबिक्रीमा जोडिएका व्यक्ति आफू, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत चिनेजानेको व्यक्ति भएको उनको भनाइ थियो।

यद्यपि चिनेकै भरमा उनले गरेको गडबडीले छुट नपाउने प्रचण्डले प्रतिबद्धता जनाए।

प्रधानमन्त्री प्रचण्डले सिंगापुर गएको बेला आफू दुई दिन उनको घरमा बसेको समेत जानकारी दिए।

‘बेलायतमा रातारात कम्पनी खडा गरेर किन्ने व्यक्तिलाई राम्रोसँग चिन्छु। सिंगापुरमा श्रीमती बिरामी भएका बेला गएको छु, दुई दिन बसेको छु। देउवाजी र ओलीजी पनि जानुभएको छ। तर, चिनेजानेको छ भन्ने हिसाबले अनुहार हेरेर व्यवहार गरिँदैन,’ उनले भने।

एनसेल खरिदबिक्रीमा जालझेल छ भन्ने लागेर नै छानबिन समितिमार्फत छानबिन गरी दोषी देखिए कारबाही गर्ने प्रचण्डले बताए।

 

 

Tags: