post-slider post-slider

सय किलो सुनका मालिक ‘ज्यामी’!

Image
A A

काठमाडौं- राजस्व अनुसन्धान विभागको टोलीलाई गोप्य सूचना आएको थियो– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुँदैछ।

सूचना काँचो थियो। विभागका अधिकारीहरू त्यो गोप्य सूचनाको वास्तविकता खोतल्न जुटे।

प्राप्त सूचनाका आधारमा विभागको टोली बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो आसपासका क्षेत्रमा निगरानी बढायो, सुरक्षा निकाय र भन्सारलाई जानकारी नदिइकन्।

अरू निकायलाई जानकारी गराउँदा सूचना चुहिने डर विभागका पदाधिकारीलाई थियो। त्यसैले विभागको टोलीले विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थल भन्सार कार्यालयलाई समेत यो विषयमा जानकारी गराएको थिएन।

यद्यपि ‘अपरेसन’ बारे विभागले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराइसकेको थियो। र, प्रधानमन्त्रीको निर्देशन थियो–अगाडि बढ्नुस्।

कार्गो परिसरबाट बाहिरिँदै गरेको शंकास्दप एउटा ट्याक्सीलाई गोप्य ‘अपरेसन’ मा उत्रिएका विभागका टोलीले मूल सडकमा नियन्त्रणमा लियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट भन्सार जाँच पाए भएर बरामद गरिएको एक क्विन्टल सुन सरकारको ढुकुटीमा राखिएको छ।

परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रण व्यवस्था विभागअन्तर्गतको टक्सार महाशाखालाई जिम्मा लगाइएको सुन ढुकुटीमा राखिएको हो।

हालसम्म बरादम भएको मध्ये सबैभन्दा ठूलो परिमाणको भनिएको सुन मंगलबार क्याथे प्यासिफिक उडानमार्फत हङकङबाट काठमाडौं आएको थियो।

विदेशबाट आउने यात्रुले बोकेर ल्याउने मोबाइल फोन बरामद गर्न सक्ने विमानस्थलका कर्मचारी र सुरक्षा निकायले यति धेरै मात्रमा भित्र्याइएको सुनबारे कसरी थाहा पाएनन्? यतिबेला सर्वसाधारणका लागि चासोको विषय बनेको छ।

सुरक्षा चेकचाँज, एक्स–रे स्क्यानिङलगायतका प्रक्रिया पूरा गर्नुपर्ने भए पनि झन्डै एक सय किलो सुन विमानस्थल भन्सारबाट सहजै बाहिरिएको घटनाले सम्बन्धित निकायलाई शंकाको घेरामा तानिदिएको छ।

यहाँसम्म कि मोटरसाइकल र स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ भारतबाटै ल्याउँदा सस्तो पर्ने भए पनि अरू देशबाट ल्याउन किन जरूरी प¥यो भनेर समेत भन्सारले खोजीनीति गर्नु जरूरी नठान्नुले पनि शंका उब्जिएको छ।

अवकाशप्राप्त डिआइजी हेमन्त मल्ल देखिएको भन्दा ठूलो आयतनमा सुन तस्करी हुने गरेको अनुमान गर्छन्।

उनी भन्छन्,‘भारतमा सुनको माग र त्यसको कानुनसम्मत उपलब्धताबीचको अन्तर रहँदासम्म स्वरूप र तरिका फरक होला, नेपाल हुँदै सुनको तस्करी रोकिन्न। कहिले उडेर आउला, कहिले गुडेर आउला, कहिले हिँडेरा आउला त्यो अर्कै कुरा हो।’

...

स्कुटर र मोटरसाइल ‘ब्रेक सु’ को नामबाट तस्करी गरी नेपाल भित्र्याइएको सुनको ‘मालिक’ को खोजीमा राजस्व अनुसन्धान विभाग जुटेको छ।

‘ब्रेक सु’ भनेर हङकङबाट यो सुन काठमाडौंको बूढानीलकण्ठस्थित रेडी ट्रेडलिङ्कको नाममा ल्याइएको खुलेको छ।

रेडी ट्रेडलिङ्क दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय दीलिप भुजेलको नाममा दर्ता छ।

अवैध तरिकाले भित्र्याइएको एक क्विन्टर सुनका मालिक अहिलेसम्म तिनै दिलिप देखिएका छन्। 

तर, उनी कुनै धनाढ्य नभएर निर्माणस्थलमा काम गर्ने एक साधारण ‘ज्यामी’ भएको खुलेको छ।

राजस्व अनुसन्धान विभागले दिलिपलाई बुधबार राति नै साँखुबाट पक्राउ गरेको थियो।

सुरूमा ‘ज्यामी’ को काम गर्दै आइरहेका दिलिप दुई महिनाअघि साँखुमा आफन्तको चाउमिन फ्याक्ट्रीमा रोजगार गर्दै आइरहेका थिए।

सामान्य जीवनयापन गर्दै आइरहेका उनी यतिबेला अहिलेसम्मकै ठूलो भनिएको सुन तस्करीमा संलग्न भन्दै पक्राउ गरेका छन्।

कम्पनीको मालिक दिलिप देखिए पनि यसका पछाडि अरू व्यक्तिको हात हुनसक्ने आफन्तहरूको आशंका छ।

दिलिपका बुबा रामबहादुर भुजेलका अनुसार २० हजार रूपैयाँको लोभमा कुनै अरू व्यक्तिका लागि उनले कम्पनी खोलिदिएका थिए।

चाउमिन फ्याक्ट्रीमा काम गर्नुअघि मामा रामकुमार भुजेलले एउटा कम्पनी खोल्ने र त्यसबापत २० हजार रूपैयाँ आउने भनेपछि दिलिप राजी भएर अरूकै योजनाअनुसार रेडी ट्रेडलिङ्क नामक कम्पनी खोलिदिएका थिए।

दिलिपका बुबाका अनुसार मामा रामकुमारले भनेअनुसार स्वम्भुमा एक तिब्बतीयन नागरिकको घरमा काम गर्ने मामा रामकुमारले भनेअनुसार नै दिलिपले कम्पनी खोलिदिएका थिए।

कम्पनी र त्यहाँबाट हुने कारोबारबारे उनी बेखबर भएको दिलिपको बुबाको भनाइ छ।

राजस्व अनुसन्धान विभागले दिलिपसहित मेलुङ–३ का ५३ वर्षीय रामकुमारलाई पनि पक्राउ गरेको छ। हालसम्म यो घटनामा ६ जना पक्राउ परिसकेका छन्।

सुन तस्करीबारे अनुसन्धान भइरहेकोले थप कुरा भन्न नमिल्ने राजस्व अनुसन्धान विभागको भनाइ छ।

अधिकारीहरूका अनुसार फेला परेको प्रज्ञापनत्रमा यो कम्पनीको नामबाट यसअघि २२ पटक सामान ढुवानी गरिएको देखिन्छ। त्यसैले अघिल्ला ढुवानीमा के ल्याइएको थियो भन्नेबारे पनि अनुसन्धान हुने बताइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै खालको सामान लगातार आउँदा शंका गर्नुपर्ने र त्यसमा कर्मचारीको मिलेमतो हुनसक्ने शंका सुरक्षासम्बन्धी जानकारहरूको छ।

सुन तस्करीका घटनामा भरिया पक्राउ पर्छन्। ठूलो परिमाणमा बरादम हुने सुन तस्करीमा धनाढ्य व्यक्तिकै लगानी हुने ठानिन्छ। तर, उनीहरू पत्ता लाग्दैनन्।

यस्ता व्यक्तिलाई राजनीतिक संरक्षण हुने गरेको पनि कतिपयको ठम्याइ छ।

...

विमानस्थलबाट बाहिरिएलगत्तै सुन बरामद भएको विषयमा बिहीबार बिहान गृह मन्त्रालयमा बैठक बस्यो।

बैठकमा भन्सार विभागका कर्मचारीहरू समेत बोलाइएका थिए। बैठकको विवरण सार्वजनिक गरिएको छैन।

गृह मन्त्रालय मातहत रहेको विमानस्थलमा तैनात सुरक्षाकर्मीले सुइँको पाउन नसकेको सुन तस्करीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले सूचना पाइसकेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदमातहतकै राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अर्थ मन्त्रालयको मातहत पर्छ।

भन्सार विभागले यो विषयको आन्तरिक छानबिन गरिरहेको छ। विभागका माहानिर्देशक शोभाकान्त पौडेल भन्छन्,‘प्रणालीमा केही खराबी छ कि, एक्स–रेमा नदेखिएको हो कि वा मान्छेको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ।’

एक्स–रे मेसिनले देखाउँदादेखाउँदै छाडेको भए कर्मचारीको संलग्नता पुष्टि हुने बताउँदै उनले त्यसो भएको भए निर्मम रूपमा प्रस्तुत हुने उल्लेख गरे।

उनकाअनुसार केमिकल प्रयोग गरेको भए एक्स–रे मेसिनले सुन पत्ता नलगाउने सम्भावना पनि हुन्छ।

विमानस्थलस्थित भन्सार कार्यालयका प्रवक्ता तथा प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालका अनुसार बिहीबार मध्याह्नसम्म सिसिटिभी फुटेज र एक्स–रे रिपोर्टको अध्ययन भइरहेको छ।

‘एक्स–रे मेसिन हेर्ने कर्मचारीले प्याकेटमा ‘संवेदनशील’ सामान जनाउने ट्याग लगाएपछि जाँच गर्ने कर्मचारीले कार्टुन खोलेर गनेको देखिन्छ। तर भित्र कसरी लुकाएको थियो, के थियो थप हेर्दै छौं।’

Tags: