post-slider post-slider

क्रिकेट विश्वकप : ‘इंग्ल्यान्डको फ्लप शो’, च्याम्पियन्स ट्रफीका लागि पनि मडराइरहेको छ खतरा

Image
A A

काठमाडौं- मात्रै २२९ रन बनाएर पनि भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई सय रनले पराजित गरेर विश्वकपमा लगातार छैठौं जित हासिल गर्‍यो।

यो जितका लागि भारतमा प्रशंसा भइरहेको छ नै, पाकिस्तानका क्रिकेटरहरू पनि भारतीय टिमको प्रशंसा गरिरहेका छन्।

म्याचको सुरूवात भारतले टस हारेर भएको थियो। तर, कप्तान रोहित शर्मा त्यहाँ पनि सकारात्मक देखिए।

टस जितेको भए पनि पहिले ब्याटिङ नै गर्ने रोहितले बताएका थिए।

उनको यो भनाइ ब्याटिङमा पनि देखियो। कुल २५८ रनको यो म्याचमा ‘प्लेयर अफ द म्याच’ भएका रोहितको ब्याटबाट ८७ रन आयो। र, टिमले एउटा छोटो स्कोर खडा गर्न सफल भयो।

म्याचपछि रोहितले भने,‘हामीले २०–३० रन कम बनायौं जस्तो लागेको थियो।’

जसप्रित बुमराह, मोहम्मद शमी र कुलदीप यादवको बलिङले भारतलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्यो।

अकरम र अख्तरले के भने?

म्याचपछि रावलपिन्डी एक्प्रेसको नामबाट चर्चित शोएब अख्तरले भने,‘भारतको ब्याटिङबाट डराउनुपर्ने थियो नै, अब स्थिति यस्तो छ कि उनीहरूको बलिङ युनिटसँग पनि डराऊ। अगाडि कुन टिमले कस्तो गर्ला त्यो रोमाञ्चक हुनेछ।’

भारतीय टिमको जितपछि पाकिस्तानका पूर्वक्रिकेटर वसीम अकरमले भारतको दमदार प्रदर्शनपछि आफूलाई १९९२ को विश्वकपको न्युजिल्यान्ड टिम सम्झना भएको बताए।

उनले भने,‘यो विश्वकपमा भारतीय टिमले सबै क्षेत्रमा आफ्नो पूरा नियन्त्रण राखेको छ। ठीक त्यसरी जसरी १९९२ को विश्वकपमा न्युजिल्यान्डले लगातार सात म्याच जितेको थियो।’

म्याचपछि रोहितले पिच लामो समयसम्म टिकेर खेल्नेखाले रहेको बताए।

रोहितको ब्याटिङबारे अकरमले भने,‘यो विकेट विल्कुलै फरक थियो। यहाँ ब्याटिङ गर्न सजिलो थिएन। रोहितले ८७ रनको इनिङ खेले र अगाडि बढेर टिमको नेतृत्व गरे। केएल राहुलसँग मिलेर ९१ रनको साझेदारी गरे। यो विश्वकपमा रन बनाउन नसकेका सूर्यकुमारले पनि स्कोर बनाए।’

रोहितको दमदार कप्तानी 

भारतको यो जितपछाडि रोहितको ८७ रनको इनिङ रह्यो। यसबाहेक रोहितको कप्तानी पनि अब्बल दर्जाको रह्यो। 

उनले ठीक समयमा सटिक निर्णयमात्रै गरेनन्, लगातार बलिङ परिवर्तन गरिरहे। र, इंग्ल्यान्डलाई घुँडा टेक्न बाध्य पारे।

ओसका कारण आउटफिल्ड भिजिरहेको थियो। यस्तो अवस्थामा बलिङ गर्न सजिलो थिएन। त्यसकारण पनि यो छोटो स्कोर निश्चित रूपले इंग्ल्यान्डको नाम हुनुपर्ने थियो।

तर, यो प्रतियोगितामा जसरी इंग्ल्यान्ड खेलिरहेको छ त्यसको असर यो म्याचमा पनि देखियो।

दमदार बलिङका बाबजुद ब्याटिङका लागि पिचमा उत्रिएको इंग्ल्यान्डका कुनै पनि ब्याटरले लय समाउन सकेनन्।

जो रूट र बेन स्टोक्सजस्ता मध्यक्रमका ब्याटरले आफ्नो खातासमेत खोल्न पाएनन्। लियम लिविंग्स्टनलाई छाडेर अरू कुनै पनि ब्याटरले १७ रन पनि बनाउन सकेनन्।

यसपछाडि मुख्य कारण रोहितले आफ्ना बलहरूलाई थाक्न दिएनन्। बलहरूलाई छोटो स्पेल दिए र नियमित अन्तरालमा बलिङ परिवर्तन गरिरहे।

कप्तान रोहितले इंग्ल्यान्डका ब्याटरलाई पिचमा जम्नमात्रै दिएनन्, ठूलो साझेदारीसमेत बनाउन दिएनन्।

भारतीय टिमका पूर्वकप्तान रवि शास्त्री भन्छन्,‘रोहितले ज्यादै सजिलो तरिकाबाट बलिङ परिवर्तन गर्छन्। जसका कारण कुनै पनि ब्याटरलाई लयमा आउन कठिनाइ हुन्छ।’

क्रिकेट कमेन्टेटर हर्ष भोगलेले बलिङ र रोहितको उत्कृष्ट कप्तानीले इंग्ल्यान्डविरूद्धको खेललाई स्मरणीय बनाइदिएको बताएका छन्।

बुमराह–शमीको ‘खतरनाक’ जोडी

कतिबेला कुन बलरबाट बलिङ गराउने रोहितले राम्ररी बुझिसकेका छन्। र, यसका लागि उनका बलरहरूको परिपक्वतालाई पनि श्रेय जान्छ।

टि–२० विश्वकपमा जसप्रित बुमराहको कमी महसुस भएको थियो। चोटिलपछि फर्किएका बुमराह टिमलाई आवश्यक्ता भएअनुसारकै फर्ममा देखिएका छन्।

त्यस्तै मोहम्मद शमीले पछिल्लो चार एकदिवसीयमा १५ विकेट लिएर आफ्नो जोडदार फर्मलाई साबित गरिसकेका छन्।

इंग्ल्यान्डविरूद्धको खेलमा पनि बुमराह र शमीले स्मरणीय सुरूवात दिए। दुवैले आफ्नो सन्तुलित बलिङबाट सबैलाई मन्त्रमुग्ध बनाए।

बुमराहले लगातार दुई बलमा डेविड मलान र जोए रूटको विकेट लिएर इंग्ल्यान्डलाई ‘ब्याकफुट’ मा धेकेलिदिए।

त्यस्तै शमीले आफ्नो तिखो बलिङमा तीन ब्याटरलाई बोल्ड गर्दै कुल चार विकेट लिए। बुमराह–शमीको जोडीले यो म्याचमा सात ब्याटरलाई प्यावेलियन पठायो।

रोहितले शमीको छैठौं ओभरमा बल दिए। सुरूको दुई बलमा तीन रन बन्यो। त्यसपछिको २८ बलमा उनले कहर ल्याइदिए। केवल दुई रन दिएर दुई ब्याटरलाई आउट गरेर इंग्ल्यान्ड टिममा खलबली मचाइदिए।

शमीले जारी विश्वकप प्रतियोगिताम दुई म्याच खेलेर ९ विकेट लिइसकेका छन्। त्यस्तै १४ विकेट लिएर बुमराह यो प्रतियोगिताको दोस्रो सफल बलर बनेका छन्।

यो जितपछि अकमरले भने,‘भारतीय टिमको बलिङ यतिबेला विश्वकै उत्कृष्ट छ। बुमराह र शमीले इंग्ल्यान्डलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।’

रोहितले पनि कम स्कोरका बाबजुद इंग्ल्यान्डविरूद्ध जित हासिल गर्नुमा बलहररूको भूमिका महत्वपूर्ण भएको बताए।

‘तपाईं सँधै कम स्कोरलाई डिफेन्ड गर्न सक्नु हुन्न। हाम्रो तीब्र गतिका बलरहरूले कन्डिसनको राम्रो उपयोग गरे। स्विंग र मुभमेन्ट दुवै प्राप्त भइरहेको थियो,’ उनले भने।

च्याम्पियन्स ट्रफी २०२५ खेल्न नपाउने जोखिम

विश्वकप २०२३ का लागि वेस्टइन्डिजजस्तो मजबुत टिम क्वालिफाइ गर्न सकेन। अब त्यस्तै जोखिम इंग्ल्यान्ड टिममाथि पनि मडराइरहेको छ।

अंकतालिकामा भारत शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड टिम केवल एक जितका साथ सबैभन्दा तल अर्थात १० औं स्थानमा रहेको छ।

त्यसैले २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि छनोट हुने इंग्ल्यान्डका सम्भावना ज्यादै कम देखिएको छ।

च्याम्पियन्स ट्रफी २०२५ मा पाकिस्तानमा हुँदैछ। आइसिसीको यो प्रतियोगितमा आयोजकसहित विश्वकपको अंकतालिकाका शीर्ष आठ टिम भाग लिन पाउँछन्।

त्यसैले २०२५ को च्याम्पियन्स ट्रफीका लागि क्वालिफाइ गर्नेमा इंग्ल्यान्डमाथि संकटको बादल मडराइरहेको छ।

यद्यपि कप्तान जौस बटरलले अझै आशा मारेका छैनन्।

म्याचपछि उनले भने,‘च्याम्पियन्स ट्रफीबारे हामीलाई जानकारी छ। र, अहिले प्रतियोगितामा खेल्नका लागि धेरै थोक बाँकी छ।’

बटलरले भरोसा देखाइरहे पनि बाँकी तीनमध्ये इंग्ल्यान्डले एउटा अस्ट्रेलिया र अर्को पाकिस्तानसँग खेल्नुपर्ने छ। त्यसैले शीर्ष आठमा पुग्न इंग्ल्यान्डलाई त्यति सहज पक्कै पनि छैन।

के भन्छन् इंग्लान्डका पूर्वकप्तान मोर्गन?

इंग्ल्यान्ड सन् २०१९ को विश्वकप विजेता टिम हो। डिफेन्डिङ च्याम्पियन भएकोले पनि जारी विश्वकपमा उसको उत्कृष्ट प्रदर्शनको अपेक्षा धेरैले गरेका थिए।

तर, अहिलेसम्म भएका सबै ६ खेलमा इंग्ल्यान्डले आफ्ना प्रशंसकहरूलाई निराशमात्रै बनाएको छ। 

विश्वका शीर्ष ब्याटर र बलरहरूको उपस्थिति रहेको यो टिमको खस्किएको प्रदर्शनपछाडि आन्तरिक समस्या भएको हुनसक्ने धेरैले आकलन गरेका छन्।

२०१९ मा इंग्ल्यान्डले विश्वकप जित्दा टिमका कप्तान रहेका इयान मोर्गन कुनै पनि क्रिकेट टिमले यस्तो खस्केको प्रदर्शन गरेको आफूले अहिलेसम्म नदेखेको बताएका छन्।

यो खाले खस्किँदो प्रदर्शनपछाडि टिमभित्र केही न केही भएको हुनुपर्ने उनको भनाइ छ।

मोर्गन भन्छन्, ‘टिमभित्र पक्कै पनि केही न केही उथलपुथल भएको हुनुपर्छ। अथवा अरू केही भएको हुनसक्छ। गत तीन सप्ताहमा इंग्ल्यान्डको दुर्दशा हेर्दा म अस्तव्यस्त भएको छु। इंग्ल्यान्डको योपालिको अभियान विश्वकप इतिहासमा सबैभन्दा खराब रहेको छ।’

टिमभित्र केही कुरा अस्थिर रहेको भन्दै उनले इंग्ल्यान्डको यस्तो कमजोर प्रदर्शन आफूले कहिल्यै नदेखेको बताएका छन्।

‘इंग्ल्यान्डजस्तो कमजोर प्रदर्शन गरेको कुनै खेलकुद टिम देखेको छैन। टिमभित्र केही कुरा निश्चित रूपमा अस्थिर छ। इंग्ल्यान्डले गरेको प्रदर्शन निश्चित रूपमा प्रश्नको घेराभित्र हुनेछ,’ उनी भन्छन्।

त्यस्तै टिमकासहायक प्रशिक्षक मार्कस ट्रेस्कोथिकलाई पनि टिमको प्रदर्शनले आश्चर्यचकित बनाएको छ।

‘टिमले असाध्यै तानव महसुस गरिरहेको छ। सामूहिक असफलताका कारण खेलाडीहरूले टाउको उठाउन सकेका छैनन्,’ उनी भन्छन्,‘बोर्डमा एकरूपता रहँदा पनि यसखाले प्रदर्शनले मलाई आश्चर्यचकित तुल्याएको छ। फेरि फर्ममा फर्किए पनि यो प्रतियोगिताका लागि धेरै ढिला भइसकेको हुनसक्छ।’

 

Tags: