post-slider post-slider

एआइ प्रस्तोताको समाचार कति भरपर्दो?

Image
A A

काठमाडौं- सामाजिक सञ्जालहरूमा यतिबेला पोस्ट भएको एउटा भिडियोमा २२ मिनेटसम्म चिटिक्क परेका फरक–फरक समाचार प्रस्तोताहरू क्यामराअघि उभिएर दिनभरिको समाचार प्रस्तुत गर्छन्।

टिभीको पर्दामा देखिएका ती व्यक्तिहरू वास्तविक मानव होइनन्।

ती सबै प्रस्तोता आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआइको प्रयोग गरेर तयार गरिएका हुन्।

अमेरिकाको लस एन्जलसस्थित च्यानल १ ले यस्ता भिडियोहरू बनाएर सामाजिक सञ्जालमा राखिरहेको छ।

यो च्यानल व्यवसायीहरू एडम मोसम र स्कट जबिएलस्कीले बनाएको नवप्रवर्तन उद्यम हो।

उनीहरूले यसै वर्षको अन्त्यसम्ममा एआइबाट तयार गरिएका समाचारहरू प्रस्तुत गर्ने टेलिभिजन च्यानल सुरू गर्ने योजना बनाएका छन्।

‘समाचार हेर्ने मानिसहरूलाई नयाँ कुराको अनुभव गर्न दिने रोचक अवसर देखिएको छ,’ मोसम भन्छन्।

एआइ प्रविधिले एउटा भाषामा भएको समाचार र अन्तर्वार्ता अर्को भाषामा रूपान्तरित गर्न सहयोग गर्नसक्छ।

गत डिसेम्बरमा सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा च्यानल १ ले यसको अभ्यास गरिसकेको छ।

एआइको प्रयोग गरेर समाचार प्रस्तोताहरू तयार गर्ने कार्यको विश्वमा पछिल्लो अभ्यास गर्ने च्यानल १ भए पनि यस्ता अभ्यास यसअघि नै भइसकेका छन्।

सन् २०२३ को अप्रिलमा कुवेत टाइम्समा एआइ सिर्जित कृत्रिम प्रस्तोता फेदाले समाचार वाचन गरेको थियो।

ग्रीक सरकारी च्यानल इआरटीमा २०२३ कै मेमा एआइ सिर्जित हर्मेस नाम दिइएको एआइले समाचार प्रस्तुत ग¥यो।

यो क्रम यतिमा मात्रै सीमित छैन। दक्षिण कोरियाको प्रसारक एसबिएसले पनि गतवर्ष जे–इन नाम दिइएको एआइ सिर्जित डिपफेकलाई पाँच महिनासम्म समाचार प्रस्तुत गर्ने जिम्मेवारी दियो।

एआइलाई मानिसहरूले विश्वास गर्छन्?

यस्तै एआइ सिर्जित प्रस्तोताहरूबाट समाचर वाचन गर्ने अभ्यास भारत र ताइवानमा पनि भइसकेको छ।

यसबारे एउटा प्रश्न भने अझै सुलिइसकेको छैन ः के दर्शकहरूले एआइबाट प्रस्तुत भएका समाचारहरूलाई मानिसहरूले प्रस्तुत गरेको जत्तिकै विश्वास गर्छन्?

जनमत सर्वेक्षण गर्ने कम्पनी इप्सोसले गरेको एउटा अध्ययनले मानिसहरूबाट प्रस्तुत हुने समाचारमाथिको विश्वासमा अहिलेसम्मकै सबैभन्दा धेरै गिरावट आएको देखाएको छ।

एक वर्ष अघिभन्दा १६ प्रतिशतले घटेर यो वर्ष ब्रिटेनका जम्मा ४२ प्रतिशत मानिसहरूले मात्रै समाचार प्रस्तोताहरूमा विश्वास गर्ने बताएका छन्।

समाचार प्रस्तोताहरूलाई शंका गर्ने मानिसहरू व्यक्तिगत क्रिएटर वा प्रभावहरूबाट समाचार वा जानकारी लिन मन पराउँछन्।

ती सामाजिक सञ्जालका स्टारहरूको आफ्नो स्रोताहरूसँगको सम्बन्धलाई ‘पारासोशल’ प्रभाव भनिन्छ।

सिकागो विश्वविद्यालयका विज्ञहरूले यो शब्दको प्रयोग पहिलोपटक सन् १९५० को दशकमा गरेका हुन्।

समाचार प्रस्तुत गर्ने मानिसहरूले क्यामरामा हेरेर बोलिरहँदा सीधा आफूलाई सम्बोधन गरेर बोलिरहेको ठान्ने दर्शकहरूको बुझाइलाई यो शब्दले परिभाषित गरिएको थियो।

हरेक साँझ समाचार सुनाउने, आफ्नै घरको कोठामा देखिने समाचार प्रस्तोताहरू पत्रकारहरू भन्दा धेरै परिचित भएका थिए।

पछिल्लो समय सामाजिक सञ्जालका प्रभावकर्ताहरूले त्यस्तै तरिका अपनाए।

उनीहरूले क्यामरामा हेरेर सीधा दर्शक वा स्रोतालाई सम्बोधन गर्ने शैली अपनाए।

टोरन्टो विश्वविद्यालयमा डिजिटल प्लेटफर्म र श्रम अध्यापन गर्ने क्रिस्टिन एच ट्रान आफूभन्दा टाढा रहेका समाचार प्रस्तोताहरूसँग नजिक महसुस गर्नेबाट पारासोशलको परिभाषा अझै व्यापक भएको बताउँछिन्।

‘तपाईं ट्विच (लाइभ स्ट्रिमिङ साइट) मा लाइभ गर्ने संवाददातासँग पनि पारासोशलको सम्बन्धमा रहन सक्नुहुन्छ,’ उनी भन्छिन्,‘सँगसँगै तपाईं एक जना युट्युबर, गायक वा इन्स्टाग्राममा देखापर्ने जोडीसँग पनि पारासोशल सम्बन्ध महसुस गर्न सक्नुहुन्छ।’

‘रोबोटले मानिसले भन्दा राम्रो गर्ने विश्वास होइन’

तर, एआइले यस्तो व्यत्तिगत सम्बन्ध मानिसहरूसँग स्थापित गर्ने सम्भावना कम हुन्छ।

‘तपाईंले जति धेरै अर्को मानिससँग आफ्नो सम्बन्ध बनाउन सक्नुहुन्छ एआइसँग त्यो सक्नुहुन्न,’ मोसम स्वीकार गर्छन्।

तर, मानिसहरूले त्यसप्रकारको निष्पक्षताको खोजी नगरेको उनको दाबी छ।

‘हामी रोबोटले मानिसहरूले भन्दा यो काम राम्रोसँग गर्न सक्छन् भनेर यस्तो गरिरहेका छैनौं। त्यसो भन्नु हास्यास्पद हुन्छ,’ उनी भन्छन्।

पत्रकारहरूले समाचार वाचन नगर्ने सोच त्यति धेरै असामान्य पनि होइन। अनि कम्प्युटर जेनेरेटेड प्रणालीले समाचार वाचन गर्ने उपाय पनि अनौठो होइन।

‘मैले पत्रकारिता सुरू गर्दा समाचार वाचन गर्ने कालाकारहरू हुन्थे,’ बिबिसीका पूर्वसम्पादक रहिसकेका अक्सफर्ड विश्वविद्यालयस्थित रोएटर्स इन्स्टिच्युट फर स्टडी अफ जर्नलिज्मकका वरिष्ठ अनुसन्धान सहायक निक न्युमेन भन्छन्।

समाचार वाचन गर्ने सँधै पत्रकारमात्रै हुँदैन भन्ने यो तथ्यलाई हेर्ने हो भने एआइको प्रयोग गरेर भइरहेको अभ्यास केही सीमितता हुँदाहुँदै सफल पनि हुनसक्ने न्युमेन बताउँछन्।

एआइको प्रयोग छोटाछोटा समाचार बुलेटिनहरूमा मात्रै उपयोगी हुनसक्ने उनी बताउँछन्।

तर, मानिसहरूले एआइबाट सिर्जित समाचार प्रस्तोताहरूसँग पारासोशल सम्बन्ध महसुस गर्नेमा उनलाई आशंका छ।

‘समाचारसम्बन्धी कार्यक्रमहरू सञ्चालनका लागि वास्तवमै मानिसहरूको महत्व हुन्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छन्।

मानव संलग्नता नभइ सम्भव छ?

च्यानल १ र न्युज जिपिटीले सम्पूर्ण रूपमा एआइको प्रयोगबाट समाचार सामग्री उत्पादन गरिरहेको दाबी गरेका छन्।

तर, उनीहरूले पनि एउटा प्रश्नको जवाफ दिन सकेका छैनन्। त्यो भनेको के यो प्रक्रिया मानवको संलग्नता नभइ सम्भव छ?

अहिले च्यानल १ मा एक दर्जनको संख्यामा रहेका कर्मचारीहरूले एआइले तयार गरेका समाचारका मस्यौदाहरू जाँच गरिरहेका छन्।

उनीहरूले एआइले समेट्ने समाचारहरू पनि छनोटमा सहयोग गरिरहेका छन्।

मोसम च्यानल १ मा एआइले कुनै पनि समाचारको विषय प्रसारणमा लैजानुअघि १३ चरणको छनोट पार गर्नुपर्ने व्यवस्था गरिएको बताउँछन्।

निश्चित विषयहरू एआइले प्रसारणमा नलैजाउन् भन्ने सुनिश्चितताका लागि यसो गरिएको उनको भनाइ छ।

उनी भ्रमपूण कुराहरू एआइले पनि समाचार नबनाउने र पत्रकारितामा अस्वीकार गरिने विषयहरू एआइले पनि अस्वीकार नै गर्ने बताउँछन्।(बिबिसीबाट)

 

Tags: