संसदबाट सुनिल शर्माको प्रश्न – यो देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व त गरिहनुभएको छैन?
काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा नैतिक रूपमा संलग्न व्यक्तिहरूको राजीनाम माग्दा आफूलाई गिरफ्तार गर्न लगाइएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको सरकारको नेतृत्व गरिरहेको कि डेमोक्रेटिक सरकारको भनेर प्रश्न गरे।
‘सुन तस्करीमा नैतिक रूपमा संलग्न व्यक्तिहरूको यो सदनमा जब राजीनामा मागे तब मलाई यो गिरफ्तारी गर्ने काम गरियो,’ शर्माले भने,‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आतंककारीहरूको सरकारको नेतृत्व गरिरहनुभएको छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ?’
आफूजस्ता सांसदहरूलाई विनापुर्जी पक्राउ गरिँदा समान्य जनताको अवस्था के होला भनेर उनले प्रश्न गरे।
‘ मेरो माग के हो भने यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, यो प्रजातान्त्रिक सिस्टममा सदनभित्र नैतिक हैसियत भएन भनेर राजीनामा माग्न पाइँदैन भने, हामीजस्ता सांसदहरुलाई विनापूर्जी पक्राउ गरिन्छ भने जनताको अवस्था के होला?,’ शर्माले भने।
सांसद शर्माले फेरि गृहमन्त्री नारायाणकाजी श्रेष्ठको राजीनामा माग गरे।
उनले भने, ‘ अहिलेको गृहमन्त्री जसले मलाई आतंककारी जस्तो बनाएर अरेस्ट गर्नुभयो उहाँले विनाशर्त राजीनामा गर्नुपर्छ मेरो अहिलेदेखि अन्तिमसम्म यो माग रहनेछ।’
गृहमन्त्रीले राजीनामा नगरे आफूले आमरणअनशनमा बस्ने मिति घोषणा गर्ने उनले बताए।