post-slider post-slider

छथर गाउँपालिका-५ का गोपाल ढकालको भक्तपुरमा कसले गर्‍यो हत्या?

Image
A A

काठमाडौं, १४ फागुन - तेह्रथुम छथर गाउँपालिका-५ का गोपाल ढकालको भक्तपुरमा हत्या भएको छ।

भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्दै आएका ३३ वर्षीय ढकालको फागुन ११ गते राति हत्या भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्चा इँटा र माटोले बनेको घरमा उनको शव फेला परेको हो।

‘हत्या गरेको अवस्थामा शव फेला हो, रक्ताम्य अवस्थामा मृत्यु भइसकेको अवस्थामा परालले छोपिरहेको अवस्थामा शव भेटिएको हो,’ पाठकलले भने।

ढकाले फागुन ९ गते राति १० बजे कोठाबाट निस्केका थिए। भोलिपल्टसम्म नआएको भनी १० गते आफन्तले वृत्त जगातीमा हुलियासहितको निवेदन दिएका थिए।

‘खोजी गर्ने क्रममा हत्या गरिसकेको अवस्थामा शव भेटियो,’ पाठकले भने, ‘हत्या हुनुको कारण खुलेको छैन।’

हत्यामा संलग्न एक जनाको पहिचान भइसकेको र उनी फरार रहेको पाठकले बताए।

प्रहरीका अनुसार ढकालको शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ। उनको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाइन कार्यालय महाराजगन्जबाट कुकुरसहितको टोली खटिएको थियो।

प्रहरीका अनुसार ढकाल केही समयपहिले वैदेशिक रोजगारीमा थिए। नेपाल आइकन उनी भक्तपुरमा श्रीमतीसँग बसिरहेका थिए।

‘श्रीमतीले अनलाइन व्यापार गर्ने गरेको, ढकाल चाहिँ खासै केही काम नगरीकन बसेको भन्ने कुरा आएको छ,’ उनले भने।

गोपाल हराएको भोलिपल्ट श्रीमतीलाई फोन आएको बुझिएको छ। फोन गर्नेले ‘दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु’ भनेको दाबी गरिएको छ।

यसबारे अनुसन्धान भइरहेको पाठकले बताए। उनको श्रीमतीसँगसमेत खटपट थियो भन्ने परिवारका अन्य सदस्यको बुझाइ छ।

‘पहिचान भएका व्यक्ति पक्राउपछि थप विवरण खुल्ने छ,’ पाठकले भने।

प्रहरीले सुरूमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो। तर, उनीहरूभन्दा फरक व्यक्ति हत्याको पृष्ठभूमिमा देखिएको पाठकले बताए।

Tags: