post-slider post-slider

विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै

Image
A A

काठमाडौं- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउन अर्ती दिएपछि भानुभक्तले रामायणलाई नेपाली भाषामा रचना गर्न प्रेरित भएका थिए।

भानुभक्तले ‘बधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ र अन्य फुटकर कृतिहरुको रचना गरेका छन्। आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको घोर विरोध गरेका छन्।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान रहेको छ।

भानुको जन्मजयन्ती नेपाल बाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ। आदिकवि भानुभक्त आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो।

 भानुभक्तले बोलीचालीको नेपाली सरल भाषामा रामायण ल्याएपछि भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुँच र प्रेम बढेर गएको पाइन्छ।

Tags: