post-slider post-slider

१० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

Image
A A

काठमाडौं- नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिअनुसार नेपाल–भारतबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत जेठमा भारत भ्रमणमा जाँदा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीर्घकालीनरूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशकाबीचमा सहमति भएको बताएका थिए।

भारतको संघीय मन्त्रिपरिषदले यसअघि नै विद्युत आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरको आजदेखि हुन लागेको नेपाल भ्रमणका क्रममा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत खरिद बिक्री सम्झौता गरी बिजुली लिनेछन्।

नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन्।

सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ।

त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ।

 

Tags: