![post-slider](/assets/imgs/ads/1140x100 (2).png)
![post-slider](/assets/imgs/ads/NariBachat900x100.gif)
७ म्याग्निच्युडको भूकम्पले चीनमा १२६ जनाको मृत्यु
![Image](/thumbnails/22d81f68-e601-406c-8ae5-a6d8b50a2e78_Earthquake.jpg)
काठमाडौं - चीनको सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार बिहा गएको ७ म्याग्निच्युडको भूकम्पले १२६ जनाको ज्यान लिएको छ।
भूकम्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्तिमा अवरोध भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार बिहान ६:५० मा आएको यो शक्तिशाली भूकम्पको धक्का नेपाल, भारत, र बंगलादेशसम्म महसुस गरिएको थियो।
तिब्बतमा रहेका करिब पाँच हजार नेपालीमध्ये कुनै पनि हताहती नभएको जानकारी प्राप्त भएको छ। भूकम्प प्रभावित क्षेत्रका नेपाली व्यवसायीहरू पनि सुरक्षित रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।
महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौलाका अनुसार भूकम्पपछि तुरुन्तै नेपाली समुदायसँग सम्पर्क गरी उनीहरूको अवस्था बुझिएको थियो।
भूकम्पका कारण सिगात्से क्षेत्रमा व्यापक क्षति पुगेको छ। भग्नावशेषमा अझै मानिसहरू पुरिएको हुन सक्ने अनुमान गरिएको छ। जसका कारण खोज तथा उद्धार कार्य जारी छ।
चीनका राष्ट्रपति सी जिनपिङले उद्धार टोलीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गर्न, राहत सामग्री आपूर्ति सुनिश्चित गर्न, र क्षतिग्रस्त पूर्वाधारको छिटो मर्मत गर्न निर्देशन दिएका छन्।
उनले भूकम्पको निगरानी प्रणालीलाई सुदृढ बनाउँदै आपत्कालीन अवस्थामा आवश्यक सबै सामग्री उपलब्ध गराउने व्यवस्था मिलाउन पनि आदेश दिएका छन्।
खोज तथा उद्धार टोलीहरूले स्थानीय बासिन्दाका साथै अन्य प्रभावितहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गरिरहेका छन्। नेपालमा भूकम्पको धक्का बेजोड महसुस गरिए पनि केही स्थानमा भौतिक संरचनामा मात्रै क्षति पुगेको छ।