post-slider post-slider

‘विश्वपक छनोटमा पुरानै लय कायम रहन्छ’

Image
A A

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले विश्वकप छनोटमा पुरानै लयलाई कायम राख्ने विश्वास व्यक्त गरेका छन्।

विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेका आसिफले आईसीसीसँगको कुराकानीमा नेपालको लय कायम रहने बताएका हुन्।

क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।
जसमा नेपालले युएई विरुद्धको अन्तिम खेलमा डिएलएस मेथडमा ९ रनको रोमाञ्चक जित हात पारेको थियो। जसले कीर्तिपुरमा नेपाली क्रिकेट टिम र समर्थकमाझ खुशी छाएको थियो।

‘यो छनोटमा पुग्नु अविश्वसनीय थियो,’ शेखले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा १२ मध्ये ११ खेल जित्नु अप्रत्याशित थियो। यो सामूहिक प्रयास थियो, सबैको योगदान छ।’

आसिफले विश्वकपको मुख्य प्रतियोगितामा पुग्दै अर्को इतिहास बनाउने हो भने कडा मिहिनेत गर्ने समय आएको बताए।
‘मलाई लाग्छ हामी हाम्रो क्रिकेटको साथ उत्कृष्ट यात्रामा छौं र हामी क्वालिफायरका लागि साँच्चै उत्साहित छौं,’ उनले भने।
नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जित्दै ४० अंक जोडेर च्याम्पियन स्कटल्याण्ड र ओमान भन्दा पछि रहँदै तेस्रो भएको थियो। लिग टु बाट यही तीन टिम विश्वकप छनोटमा पुगेका थिए।

विश्वकप छनोटमा भने नेपालले पूर्व विश्व विजेता वेष्टइन्डिज र आयोजक जिम्बाव्वेसँगै समूह ‘ए’ मा छ । यस समूहमा नेदरल्याण्ड्स र अमेरिका पनि छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन्। यी १० टिमबीच भारतमा हुने एकदिवसीय विश्वकपको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

जिम्बाव्वेमा खेल्दा नेपालले कीर्तिपुरको जस्तो ठूलो समर्थकको आवाज पाउनेछैन। जसले घरेलु मैदानमा युएई विरुद्ध ठूलो समर्थन गरेका थिए।

‘हामीले पाएको समर्थन अविश्वसनीय थियो, अन्तिम खेलका लागि हामीसँग धेरै समर्थकहरु थिए। हामी त्यो भीडलाई मिस गर्न जाँदैछौं तर हामीलाई थाहा छ कि नेपालबाट उनीहरूले हामीलाई समर्थन गर्ने छन्। हामी जहाँ खेले पनि फरक पर्दैन, हामीलाई थाहा छ नेपाली जनता हामीसँग छन्, उनीहरू नेपालबाट हाम्रो लागि समर्थन गर्नेछन्,' आसिफ भन्छन्।

आसिफ शेखले आयरल्याण्ड विरुद्ध टी–२० अन्तर्राष्ट्रियमा एन्डी म्याकब्रिनलाई रनआउट नगर्ने निर्णय गर्दा ठूलो प्रशंसा पाएका थिए र त्यसका लागि आईसीसी स्पीरिट अफ क्रिकेट अवार्ड २०२२ प्राप्त गरेका थिए।

Tags: