post-slider post-slider

साउदी अरबमा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुल्दै

Image
A A

काठमाडौं- साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो।

राजा अब्दुलअजीजका एक छोराले ब्रिटिस कूटनीतिज्ञलाई मारिदिएलगत्तै त्यहाँ मदिरा प्रतिबन्धसम्बन्धी कानुन बनाइएको थियो।

तर, अब साउदी अरबमा गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिन लागिएको छ।

राजधानी रियादमा ७० वर्षपछि पहिलोपटक खुल्ने मदिरा पसलले चुनिएका गैरमुस्लिम विदेशीहरूलाई सेवा दिनेछ।

यद्यपि सेवाग्रहीको वर्गमा सीमित कूटनीतिक कर्मचारीहरू मात्र पर्नेछन्।

कूटनीतिज्ञहरूले वर्षौंदेखि उनीहरूले आयात गर्ने कूटनीतिक पार्सलमा मदिरा ल्याउने गरेका थिए।

तीमध्ये केही परिमाणको मदिरा कालोबजारी हुने गरेको सरकारी अधिकारीहरूले बताउने गरेका थिए।

मदिरा पसल खोल्ने कार्यले त्यस्तो अवैध काम बन्द हुने उनीहरू ठान्छन्।

नयाँ नियमअनुसार कूटनीतिज्ञहरूले आयात गर्ने मदिरामा कडाइ गरिने बरू उनीहरूले रियादस्थित ‘डिप्लोम्याटिक क्वार्टर’ मा खुल्ने पसलबाट निश्चित कोटामा मदिरा किन्न सक्ने विवरण सामाचारसंस्था एएफपी र रोयटर्सले प्रकाशित गरेका छन्।

एक सुत्रले रायटर्सलाई बताएअनुसार पसल केही हप्ताभित्रै खुल्नेछ।

तोकिएको पसलमा गएर मदिरा किन्न केही सर्त पनि राखिएका छन्। जसअनुसार इच्छुक कूटनीतिज्ञले पहिलै नाम दर्ता गराएर सरकारबाट अनुमति लिनुपर्नेछ।

त्यस्तै २१ वर्षमुनिका कसैलाई पनि पसलभित्र प्रवेश अनुमति हुने छैन। पसलभित्र रहँदा उचित पोसाक लगाइरहनुपर्नेछ।

मदिरा सेवनकर्ताले आफ्ना चालक वा अन्य व्यक्तिलाई मदिरा किन्न पठाउने छैनन् र मासिक सीमा निर्धारण तथा लागु गरिनेछ।

सूचीकृत ग्राहकले एक महिनामा अधिकतम २४० ‘पोइन्ट’ मदिरा पाउनेछन्। एक लिटर स्पिरिट बराबर ६ पोइन्ट हुन्छ भने एक लिटर वाइन बराबर तीन पोइन्ट र एक लिटर बियर बराबर एक अंक हुन्छ।

कूटनीतिज्ञबाहेक अन्य विदेशीहरूका लागि मिदरा किन्ने सुविधा उपलब्ध हुने छैन।

साउदी अरबमा तोकिएका मानिसलाई मदिरा उपलब्ध भए पनि त्यसको प्रयोग र प्रयोगपछिका व्यवहारबारे भने सचेत हुनुपर्ने देखिन्छ।

साउदी कानुनअनुसार मदिरा साथमा राखेको वा उपयोग गरेको अपराधमा जरिवाना, जेल सजाय, सार्वजनिक रूपमा कोर्रा प्रहार वा देशनिकालासम्म हुनसक्छ।

इस्लाममा मदिरा प्रतिबन्धित भए पन सन् १९५२ सम्म साउदी अरबमा मदिराबारे कडा नियम थिएन।

तर, सन् १९५१ मा मिशारी बिन अब्दुल अजीज अल–साउद नामक राजकुमारले जेद्दाह सहरस्थित ब्रिटिस उपमहावाणिज्यदूत सिरिल उस्मानलाई एक समारोहमा मदिरा नथपिदिएको आक्रोशमा गोली हानेर मारिदिएका थिए।

त्यसको एक वर्षपछि राजा अब्दुलअजीजले मदिरामाथि पूर्ण प्रतिबन्ध लगाइदिए।

मिशारीलाई हत्यामा दोषी ठहराइएको थियो।

 

Tags: