post-slider post-slider

सर्राफ हत्या प्रकरण : घटनामा संलग्न पाँच जना सार्वजनिक

Image
A A

काठमाडौं- बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक एवं प्रिन्सिपल रुपेश सर्राफको हत्यामा आठ जना प्रत्यक्ष संलग्न रहेको प्रहरीले जनाएको छ।

सर्राफको हत्यामा ८ जना संलग्न रहे पनि प्रहरीले पक्राउ गरेको पाँच जनालाई बुधबार सार्वजनिक गरेको हो।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनवकुमार सिंहलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

मुख्य अभियुक्त एवं योजनाकार मनोज गुप्ता भने फरार रहेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

फरार भनिएको गुप्ता भारतीय नागरिक हुन्।

सर्राफको हत्या एक महिलाको रिसइवीका कारण भएको एसपी काफ्लेले बताए।

‘यो घटनामा ८ जनाको प्रत्यक्ष संलग्नता देखिएको छ। त्यसमध्येका पाँच जना पक्राउ परेका छन्। बाँकीको खोजतलास भइरहेको छ। घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिन्छ,’ उनले भने।

सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको प्रहरीले बताएको छ।

सोमबार दिउँसो कलैया–६ स्थित मदरसा टोलमा गोली हानेर सर्राफको हत्या गरिएको थियो।

गोली लागेर घाइते भएका उनको उपचारका क्रममा वीरगञ्जस्थित वयोधा अस्पतालमा मृत्यु भएको थियो।

दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले उनीमाथि गोली प्रहार गरेका थिए।

सर्राफको घाँटी र छातीमा २–२ गोली लागेको थियो।

 

Tags: