post-slider post-slider

विदेशमन्त्रीपछि चिनियाँ रक्षामन्त्री ली साङ्फू पनि बेपत्ता!

Image
A A

काठमाडौं- चिनियाँ रक्षामन्त्री ली साङ्फूको अनुपस्थितिबारे अमेरिकाका एक जना वरिष्ठ कूटनीतिज्ञले प्रश्न उठाएका छन्।

चिनियाँ रक्षामन्त्रीलाई भ्रष्टाचारसँग जोडिएको कुनै मामिलाका कारण कारबाही गरिएको हुनसक्ने आशंकामा जापानका लागि अमेरिकी राजदूतले त्यसबारे टिप्पणी गरेका हुन्।

राहम एमानुएलले चिनियाँ रक्षामन्त्री ली तीन सातादेखि नदेखिएको र उनले भियतनामको भ्रमण रद्द गरेकोबारे अड्कलबाजीसहित एउटा ट्विट गरेका छन्।

उनले लेखेका छन्,‘चीन सरकारभित्र बेरोजगारीको दर बढिरहेको छ।’

साङ्फूलाई चिनियाँ नेता सी जिनपिङप्रति वफादार मानिन्छ र उनी मन्त्रीस्तरीय वरीयताभन्दा माथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलरमध्ये एक हुन्।

बेइजिङले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

कैयौै उच्चपदस्थ सैनिक अधिकारीहरूलाई हालै पदबाट बर्खास्त गरिएको छ।

चीन र अमेरिकास्थित स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’ ले शुक्रबार प्रकाशित गरेको विवरणमा साङ्फूलाई पदबाट हटाउन लागिएको उल्लेख छ।

सार्वजनिक वृत्तबाट चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि यो घटना बाहिर आएको हो।

चिन गाङको अकस्मात अनुपस्थिति र जुलाईमा उनलाई पदबाट गरिएको बर्खास्तिको कारण पूर्णरूपमा खुलाइएको छैन।

जनरल लीकोबारेमा पनि चिनियाँ सरकारले केही भनेको छैन। यसै हप्ताको सुरूमा उनीबारे सोधिएको प्रशनमा चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ताले आफू ‘उक्त परिस्थितिबारे जानकार नरहेको’ बताएकी थिइन्।

ली अन्तिमपटक बेइजिङमा आयोजिन अफ्रिकी राष्ट्रहरू सम्मलित सुरक्षा फोरममा देखिएका थिए। हप्तौसम्म चिनियाँ रक्षामन्त्री सार्वजनिक मञ्चहरूमा देखा नपर्नु अनौठो भने होइन।

ली एरोस्पेस इन्जिनियर हुन् र उनले आफ्नो करिअर भूउपग्रह र रकेट प्रक्षेपण केन्द्रबाट सुरू गरेका थिए।

पूर्वविदेशमन्त्री चिनजस्तै उनी पनि राष्ट्रपति जिनपिङले अत्याधिक मन पराउने नेताका रूपमा मानिन्थे। 

उनी चिन गाङपछि सार्वजनिक रूपमा नदेखिएका दोस्रा मन्त्रिपरिषद सदस्य र स्टेट काउन्सिलर हुन्।

चीनभित्र गएको अगस्तमा देशको रकेट प्रणालीसम्मबन्धी फौजका दुई जना जर्नेलहरूलाई परिवर्तन गरिएपछि सेनाभित्र भ्रष्टाचारसम्बन्धी कदमहरू चालिएका ठानिएका थिए।

सैनिक अदालतका अध्यक्षलाई पनि नियुक्तिको केही महिनाभित्रै पदबाट हटाइएको थियो।

अघिल्लो हप्ता र शुक्रबार गरेको ट्विटमा जापानका लागि अमेरिकी राजदूत एमानुएलले लीको अनुपस्थिति र यसअघि चिन र अरू उच्च सैनिक अधिकारी नदेखिएका प्रसंग उल्लेख गरेका थिए।

उनी हालै भियतनामको भ्रमण र सिंगापुरका नौ सेना प्रमुखसँग बेइजिङको बैठकमा पनि ‘अनुपस्थित भएको’ भन्दै उनले लीलाई घरमै नजरबन्दमा राखिएको हुनसक्ने आरोप लगाएका थिए।

 

Tags: