post-slider post-slider

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्रमा सुधार हुने अपेक्षा बढेको छ : ढकाल

Image
A A

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थामा सुधार पु¥याउन केही हदसम्म सहयोग पुग्ने बताएका छन्।

धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा बोल्दै उनले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट अर्थतन्त्र थोरै भए पनि लयमा फर्किन सहयोग पुग्ने बताएका हुन्।

ढकालले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले देशमा हाल देखिएको आर्थिक संकटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनाबेल बढाउन पनि सहयोग पुग्ने बताए।

निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कतिपय विषय पनि शुक्रबारको मौद्रिक नीतिको समीक्षामा समेटिएको बताउँदै उनले यसले मुलुकको निजी क्षेत्रका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको उल्लेख गरे।

‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनः संरचना र घर तथा सेयर कर्जामा लचकता अपनाएको देखिन्छ। यी विषयहरू हामीले निरन्तर उठाउँदै आएका थियौंं। राष्ट्र बैंकले अहिले आएर यसको सुनुवाइ गरेको छ। यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवद्र्धन गर्न सहयोग गर्नसक्छ,’ ढकालले भने।

यो मौद्रिक नीति समयमै आउन सकेको भए हजारौं साना तथा झौला व्यवसाय र व्यवसायी विस्थापित हुन नपर्ने उनले बताए।

‘अहिले आएर केही हदसम्म भए पनि हाम्रा माग सम्बोधन भएको छ। ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के कति सहयोग गर्छ। त्यो हेर्न बाँकी छ,’ ढकालले भने।

उनले राज्यका निकायबीच समन्वयको अभावमा लगानीको वातावरण बन्न नसकेको, अर्थतन्त्र लयमा आउन नसकेको जिकिर गरे।

निजी क्षेत्रले उठाएको मागलाई सकारात्मकरूपमा लिइ प्रधानमन्त्री स्वयंले समन्वयकारी भूमिका निर्वाह गरेको ढकालले बताए।

 

Tags: