post-slider post-slider

३० अर्बको सुन तस्करी भएको प्रहरीको निष्कर्ष

Image
A A

काठमाडौं- ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्वीन्टल सुन तस्करी भएको प्रहरीले निष्कर्ष निकालेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार पत्रकार सम्मेलन गरी तीन हजार १९४.६६८ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको हो।

इलेक्ट्रोनिक्स सिगरेट (भेप) तथा ब्रेक सुमा लगाएर ल्याइएको ६० किलो सुन बरामदपछि गठित अनुसन्धान समूहले दोस्रो चरणको अनुसन्धानका क्रममा सो बराबरको सुन तस्करी भएको निष्कर्ष निकालेको हो।  

ब्युरो प्रमुख श्यामलाल ज्ञवालीले ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर र बाँकी अरु २ हजार ८३१.८९ किलो सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको बतँए।

यस क्रममा प्रहरीले २० जनाविरूद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर रहेको ज्ञवालीले बताए।

२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन बरामद भएको थियो।

२६२.७७८ किलो सुन तस्करी भएको निष्कर्षसहित प्रहरीले असोज ३१ मा २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

ब्युरोले अहिले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन र नेपाल राष्ट्र बैंक ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

यसमा १ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ।

ज्ञवालीका अनुसार सुनको अवैध चोरी पैठारी चिनियाँ नागरिक दाओजिन वाङसमेतको योजनामा भएको हो।

सुन तस्करीका लागि स्थापना भएका कम्पनीहरुमा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि, छुन्गाक इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडी ट्रेड प्रा.लि. रहेका छन्।

अवैध रुपमा चोरी पैठारी भएको सुनको रकम भुक्तानीमा पेवेल नेपाल प्रालि र सजिलो पेमेन्ट सर्भिसेज प्रालिबाट भएको पाइएको छ।

Tags: