पोर्चुगल युरोकपको क्वाटरफाइनलमा
काठमाडौं- पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार बिहान सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। त्यो समयमा पनि गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
अतिरिक्त समयको १०५औं मिनेटमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए।
रोनाल्डोले हानेको पेनाल्टी स्लोभेनियाका गोलकिपरले बचाएका थिए। पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोएको दृश्य भावुक देखिएको थियो।
आफ्नो करिअरको अन्त्यतिर रहेका रोनाल्डोलाई अन्य खेलाडीले सम्झाइरहेको दृश्य देखिएको थियो।
थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टी सुटआउटमा पोर्चुगलको जितका नायक गोलकिपर डिओगो कोस्टा बनेका थिए। उनले स्लोभेनियाका तिनै पेनाल्टी बचाएर पोर्चुगललाई जिताएका थिए।
अब क्वाटरफाइनलमा पोर्चुगलले फ्रान्सको सामना गर्ने भएको छ। पोर्चुगल र फ्रान्सबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ।
त्यस्तै, हारसँगै स्लोभेनियाको युरोकप यात्रा समाप्त भएको छ।