post-slider post-slider

जरैसम्म पुग्ला सुन तस्करीको अनुसन्धान?

Image
A A

काठमाडौं- त्रिभुवन विमानस्थलबाट तस्करी भएको एक क्विन्टर सुन तस्करी प्रकरणमा शनिबार तिब्बती मुलका एक जना बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ परे।

राजस्व अनुसन्धान विभागले शनिबार राति चलाएको सर्च अपरेसनका क्रममा छिरिङ ठमेलस्थित भियाना होटलबाट पक्राउ परे।

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करीलगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन्।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार पछिल्लोपटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको हो।

सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका छिरिङको सम्बन्ध सत्तारुढ माओवादी केन्द्रका केही ‘हेभीवेट’ नेतासँग रहेको भन्दै यतिबेला सामाजिक सञ्जाहरूमा तस्बिर सार्वजनिक हुनुका साथै कतिपय टिप्पणीहरू भइरहेका छन्।
र, यो विषय सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा समेत प्रवेश पाएको छ।

पार्टी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको थियो।

तर, सुन तस्करी प्रकरणमा पक्राउ परेका छिरिङसँग आफ्नो नाम जोडडेर समाचार र सामाजिक सञ्जालमा प्रचार भएको भन्दै उपमहासचिव वर्षमान पुनले आफ्नो प्रतिरक्षा गर्दै त्यसबारे कुरा उठाएका हुन्।

पक्राउ परेका व्यक्ति र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको फोटो पनि सार्वजनिक भएको छ।

त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम पनि अर्को एउटा सुन तस्करी प्रकरणमा जोडेर समाचारहरू आएका छन्।

पदाधिकारी बैठकमा नेताहरूले सरकारको अभियानप्रति सबैले समर्थन जनाएको महासचिव देव गुरुङ बताउँछन्।

‘सरकारको अभियानप्रति सबैको समर्थन र ऐक्यबद्धता छ, यसलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्छ, विज्ञहरू लगाएर न्यायिक ढंगले छानबिन गर्ने र दोषी देखिए जोसुकैलाई कारबाही हुनुपर्ने भन्नेमा सबैको धारणा छ,’ गुरूङ भन्छन्।

फरक सन्दर्भका पुराना तस्बिरहरू राखेर बदनाम गराउन खोजिएको भन्दै उपमहासचिव पुनले असन्तुष्टि प्रकट गरेका थिए।

सबै विषयमा छानबिन गरिनुपर्ने उनको माग थियो।

सुन तस्करी प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने उनको भनाइ छ।

सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको पुनले बताए।

‘प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीविरूद्ध अभियान चलाउनु भएको छ। अनाहकमा जोडेर मेरो चरित्र हत्या गर्ने काम भएको छ। यो प्रकरणको तथ्यमा पुगेर अनुसन्धान हुनुपर्छ,’ सोमबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले भने।

कपितयले विभिन्न उद्देश्य राखेर फोटो खिच्ने गरेको बताउँदै प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक्ता बुझेर त्यसबारे ख्याल गर्न ध्यानाकर्षण गराएका थिए।

प्रमाणले देखाएमा पार्टीकै भए पनि कसैलाई छाड्न नहुनेमा प्रधानमन्त्रीको जोड रहेको बैठकमा सहभागी एक नेताले बताए।

महासचिव गुरुङका अनुसार प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन्।

एक नेताका अनुसार प्रधानमन्त्रीले बहुचर्चित तीन प्रकरणबाहेक अन्य मुद्दा पनि बाहिर आउन सक्ने बताएका छन्।

माओवादी नेता गणेश साह प्रधानमन्त्रीले सरकारको ध्यान भूमाफिया, भ्रष्टाचार र तस्करीविरूद्ध केन्द्रित गर्न खोजेको बताए।

‘सुशासनका निम्ति उहाँले यी तीनवटा कुरालाई समाउन खोजेको देखिन्छ। मलाई त सरकारी र सार्वजनिक जग्गा अपचलनका धेरै घटनाहरू छन कि जस्तो लाग्छ,’ उनले भने।

पार्टीको पदाधिकारी बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए।

अस्वस्थताका कारण उनी बैठकमा सहभागी नभएको बताइए पनि अनुसन्धान चलिरहेको फौजदारी कसुरमा पार्टीकै नेताको नाम जोडिएका बेला उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनले पनि प्रमाण भेटिए जोसुकैलाई कारबाही गर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री प्रचण्डका निम्ति यी प्रकरणहरू विपक्षी दल, सत्ता सहयात्री र आफ्नै पार्टीभित्रका सम्भावित असन्तुष्ट स्वरलाई दबाबमा राख्ने अस्त्र बनेको कतिपयको विश्लेषण पाइन्छ।

३० असारमा विमानस्थलस्थित भन्सार गोदाममा पुगेको सुन २ साउनमा भन्सार पास भएर निस्किएपछि राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो। 

यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

पक्राउ पर्नेमा नेपाली र विदेशी नागरिक पनि छन्। उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ।

उनीहरूको मोबाइलको कल डिटेल नेपाल टेलिकमसँग माग गरिएको बताइएको छ। कलडिटेलका आधारमा उनीहरूको सम्पर्क कुन तहका व्यक्तिहरूसँग रहेको भन्ने खुल्ने अपेक्षा अधिकारीहरूले गरेका छन्।

यति ठूलो सुन तस्करी राजनीतिक संरक्षणविना सम्भव नहुने कुरा धेरैले व्यक्त गर्दै आएका छन्।

तर, यो प्रकरणको अनुसन्धान राजनीतिक तहसम्म पुग्नेमा उनीहरूको अविश्वास देखिन्छ।

Tags: