post-slider post-slider

‘सुन काण्डमा संलग्नता पुष्टि भए तत्काल राजीनामा दिन तयार छु’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि भए तत्काल पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लान्छना लगाउने काम भएको उनको भनाइ छ।

मन्त्री महतले पार्टी, संसद र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर लान्छना लगाउने काम भएको बताए।

‘ममाथि व्यर्थको लान्छना लगाउने काम भया। यो ममाथिको व्यक्तिगत प्रहार हो। ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो,’ महतले भने,‘अलिकति पनि तपाईंहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ। प्रमाण दिनुहुन्छ भने म अहिलेदेखि नै यो ठाउँमा बस्दिनँ।’

कसैलाई आफू मन नपरेकै कारण आफूमाथि व्यक्तिगत लान्छना लगाउने र होच्याउने गरी काम नगर्न उनले आग्रह गरे।

‘करका दरदेखि लिएर विगतमा कति मन्त्रीहरूले स्वार्थ साँधेर गलत गरेका उदाहरणहरू छन्। तर मैले कुनै पनि विषयमा स्वार्थ साँधेको छैन,’ उनले भने,‘अनि यो सुनको विषय त मेरो कल्पनाभन्दा बाहिरको विषय हो। त्यसकारण ममाथि लान्छना आउनुभन्दा पहिले सोचिदिएको भए हुन्थ्यो।’

मन्त्री महतले राजस्व प्रशासनमा आफूले सकेसम्म कुनै पनि कमी कमजोरी नहुने गरी व्यवस्थापन गरिरहेको बताए।

 

Tags: