अभ्यास खेलका लागि दक्षिण अफ्रिका जाँदै सन्दीप
काठमाडौं- बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका जाने भएका छन्।
जिल्ला अदालत काठमाडौंले लामिछानेको पेसी २९ असारका लागि सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो।
क्यानका प्रवक्ता दुर्गाराज पाठकका अनुसार लामिछानेलाई सोमबार नै दक्षिण अफ्रिका पठाउने तयारी भइरहेको छ।
जिम्बाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम गत साता नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ।
यसबीचमा पेसी परेकोले लामिछाने दक्षिण अफ्रिका जान पाएका थिएनन्।
अब उनले जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट पनि खेल्नसक्ने बताइएको छ।
लामिछानेका वकिलले अर्को पेसी डेढ महिना पछाडि सार्न निवेदन दिएकोमा अदालतले यो निवेदनलाई स्वीकृत गरेको छ।
नेपालले दक्षिण अफ्रिकामा एक हप्ताको अभ्यासपछि दुई अभ्यास खेल खेल्दैछ। यसपछि नेपाली टिम विश्वकप छनोट खेल्न सिधै जिम्बाबे जानेछ।