.png)

सिरहामा चुरे मासेर सडक निर्माण, वन पदाधिकारीको मिलेमतो

सिरहा - पछिल्लो समय सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी जग्गाबाट अनियन्त्रित रुपमा उत्खनन् गरी सडक निमार्ण गर्ने गरेको पाइएको छ।
ठेक्केदार कम्पनीहरूले स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, वनका कर्मचारी, सामुदायिक वनका अध्यक्षलाई आर्थिक प्रभावमा पारी सडक निमार्णका लागी आवश्यक सामग्रीहरू माटो, ग्राभेल र बालुवा चुरे मासेर भए पनि सडक निर्माणमा प्रयोग गरेको पाइएको हो।
यसको उदाहरण हो, सिरहाको गोलबजार ननगरपालिका ७ चोहर्वा बजारदेखि वडा नम्बर १० धरमपुर-घुर्मीघाटसम्म भइररहेको सडक निर्माण। उक्त सडक निर्माण गर्न चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष देवकुमार तामाङ, वन कर्मचारी र प्रहरी प्रशासनकै मिलेमतोमा ग्राभेल उत्खनन् भइरहेको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार रातको समयमा वनभित्रै एक्साभेटर लगेर सालको रुख ढाल्दै ग्राभेल उत्खनन् गरी टिपरमा ओसार्ने गरिएको छ। ‘यो विषयमा नियामक निकाय सबृलाई जानकारी छ तर कसैले चुइँक्क बोल्दैनन्, वन उपभोक्ता समूहका अध्यक्ष देवकुमार तामाङ त झन् आफ्नै रोहवरमा चुरे उत्खनन् गराउँछन्,’ एक स्थानीयले भने।
उत्खननका क्रममा ढलेको सालको रुख पनि टिपरमा लोड गरी स्थानीय स-मिलहरूमा बिक्री वितरण गरिएको छ। वनको कर्मचारीलाई जानकारी गराउँदा समेत रुखको विषयमा कोही नबोलेको बताइएको छ।
स्थानीय प्रमोदकुमार सिंहका अनुसार उपभोक्ता समूहका अध्यक्ष तामाङले आफ्नै निजी जग्गाबाट करिब एक सय टिपर माटो तथा ग्राभेल दिएका छन्।
यो कुरा वनका कर्मचारी, जनप्रतिनिधि सबैलाई जानकारी छ। तर, यो उत्खनन् रोक्न कोही अग्रसर देखिनन्। उनले भने, ‘उत्खननको बारेमा हामीले पटक-पटक वनका कर्मचारी, सामुदायिक वनका अध्यक्ष, प्रहरी र जनप्रतिनिधिसहितलाई जानकारी गराए पनि सरोकारवाला निकायले कुनै वास्ता गरेनन्।’
जिम्मेवार निकाय नै उत्खननकर्ताको पक्षपोषणमा लाग्दा प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन भइरहेको वरिपरिका स्थानीय बताउँछन्।
त्रसित स्थानीयले चुरे दोहन बन्द गर्न र उत्खनन् गराउने सामुदायिक वनका अध्यक्ष देवकुमार तामाङमाथी कारबाही गर्न नाम किटान गरी वडा नम्बर १० को वडा कार्यालयमा सामूहिक उजुरी दिएको वडा अध्यक्ष उपेन्द्र मुखियाले जनाए।
उनले भने, ‘स्थानीयहरूलाई डर, त्रास र धम्की दिई वन नै मासेर ग्राभेल उत्खनन् गरेको स्थलगत अनुगमनमा जाँदा देखिएको छ। यो वडाबासीको लागि अत्यन्तै गम्भीर विषय हो। स्थानीयले दिएको निवेदनको आधारमा सम्बन्धित निकायलाई दोषी उपर छानबिन गरी कडा कारबाही गर्न पत्र पठाइदिएको छु।’
संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी नै उत्खनन् गराउन सक्रिय रहेको स्थानीयको आरोप छ।
चुरे चौफाल सातपत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवकुमार तामाङसँग सामुदायिक वनभित्रैबाट उत्खनन् भइरहेको छ? यो कसरी सम्भव भएको हो? तपाईंलाई यसबारे जानकारी छ कि छैन? भन्ने प्रश्नमा उनले अल्मलिएर भन्ने, ‘मलाई उत्खनन् बारेमा कुनै जनकारी नै छैन। कतिपय ठाउँ त निजी जग्गा हो। यो सडक निमार्णमा मैले पनि सयौं टिपर माटो तथा ग्राभेल दिएको छु।’
उनले यहाँ रातभरि वन तथा खोलाबाट उत्खनन् भइरहेको स्वीकार गरेका छन्।
उनले थपे, ‘यहाँ रात परेपछि वन तथा खोलामा एक्साभेटर लगाएर उत्खनन् भइरहेको हुन्छ। यहाँ सबैको मिलेमतो छ। मेरो एक्लो प्रयासले त्यो रोकिँदैन।’
तर, अध्यक्ष तामाङले नै ठेकेदारलाई स्थानीय स्तरमा ग्राभेल र माटो उत्खनन् गर्न सघाउने गरेको स्थानीयको आरोप छ।
यता, डिभिजन वन कार्यालय लहानका डिभिजनल प्रमुख शैलेन्द्रकुमार मिश्राले उत्खनन् भएको विषयमा अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘प्रहरीले एक्साभेटर समाएको भन्ने सुनेको छु। हामीले पनि अनुसन्धान गरिरहेका छौं। दोषी उम्किनु हुँदैन। त्यसको लागि सबैको सहयोग आवश्यक छ।’
इलाका प्रहरी कार्यालय गोलबजारले सडकमा रहेको ग्राभेल सम्याउने क्रममा स्थानीयले मिलाउन नदिएर विवाद भएपछि एक्साभेटर सुरक्षाको लागि ल्याएर नगरपालिकाको जिम्मा लगाइएको बताएको छ।