post-slider post-slider

संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेस आइतबार नेपाल आउँदै

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस नेपाल भ्रमणको औपचारिक भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

नेपाल सरकारका विभिन्न निकायले उनको भ्रमणको तयारी थालेको छ।

आपसी भाइचारा र शान्तिको सन्देश विश्वलाई दिने उद्देश्यसहित महासचिव गुटेर्रेसको नेतृत्वमा राष्ट्रसंघको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको बताइएको छ।

विश्वका विभिन्न देश आपसी मतभेदसँगै युद्ध र कलहमा जेलिइरहेका बेला उनको शान्ति भूमि नेपालको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार महासचिव गुटेर्रेस कतार एयरलाइन्सको जहाजबाट आइतबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

सन् २०१७ मा नयाँ महासचिवको पदभार ग्रहण गरेपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। गुटेर्रेस चारदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

नेपालका शान्ति सैनिकले विश्व शान्तिका लागि पु¥याएको योगदानबारे उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पटकपटक नेपालको प्रशंसा गरेका छन्।

नेपाल भ्रमणमा रहँदा सरकारले कात्तिक १४ गते संघीय संसदमा उनको सम्बोधनका लागि कार्यसूची तय गरेको छ।

त्यसअघि महासचिव गुटेर्रेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

पछिल्लो समय जलवायु परिवर्तनको असरले सर्वोच्च शिखर सगरमाथासहितका हिमालय क्षेत्रमा परेको असरबारे पनि महासचिव गुटेर्रेसले चासो व्यक्त गर्दै आएका छन्।

त्यसको प्रत्यक्ष अवलोकन गर्दै हिमाली क्षेत्रका प्रभावित समुदायसँग उनले कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनले नेपालका विभिन्न विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ।

 

Tags: