post-slider post-slider

नक्कली शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस

Image
A A

काठमाडौं- नक्कल भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरूविरूद्ध आइतबारदेखि थुनछेक बहस सुरू हुँदैछ।

पक्राउ परेकाहरूको शुक्रबार बयान सकिएकोले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरू हुन लागेको हो।

आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन्।

तर बयानका सबै फाइल शुक्रबार अबेरमात्रै पाएकाले अध्ययन गर्न समय चाहिने भन्दै जाहेरीकर्ताका कानुन व्यवसायी र सरकारी वकिलले केही समय माग गर्ने तयारी गरेका छन्।

इजलासले अनुमति नदिए आजदेखि नै थुनछेक बहस सुरू हुनेछ।

सुरूमा सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले आरोपितहरूलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गर्नेछन्।

त्यसपछि मात्रै आरोपितहरू पक्षका कानुन व्यवसायीहरूको पालो आउनेछ।

दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरूलाई थुनामै राख्ने, धरौटी माग्ने वा साधारण तारिखमा छाड्ने भन्नेबारे निर्णय लिनेछ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस हुनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहदुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका व्यक्तिहरू पक्राउ परेका छन्।

 

Tags: