post-slider post-slider

यसपटक को-को खेलाडीले गुमाउँदैछन् युरोकप?

Image
A A

काठमाडौं- यही जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप सुरू हुँदैछ। जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिँदैछन्। 

युरोकप आउन अब एक साता मात्र बाँकी रहदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन्। केही खेलाडीहरू चोट र निलम्बनका कारण तथा केही खेलाडीहरू राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन्। 

मिनी विश्वकप भनिने युरोकप गुमाउने सबैभन्दा ठूलो नाम बेल्जियमका चर्चित गोलकिपर थिबाउट कर्टिओस रहेका छन्। राष्ट्रिय टिमका प्रशिक्षकसँगको विवादका कारण उनी यस युरोकपमा देखिने छैनन्।

त्यस्तै, स्पेनका मिडफिल्डर गाभीले पनि इन्जुरीका कारण यस युरोकप गुमाउने भएका छन्। त्यस्तै, युरोकपको आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि इन्जुरीका कारण यस युरोकपमा नखेल्ने भएका छन्। उनी राष्ट्रिय टिममा कहिले फर्किन्छन् भन्ने पनि अनिश्चित रहेको रिपोर्टमा बताइएको छ।

त्यस्तै, म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रिलिस पनि यस युरोकपमा नदेखिने भएका छन्। उनी इङल्याण्डको टिममा पर्न असफल भएका छन्।

त्यस्तै, जर्मनीका स्टार डिफेन्डर माट्स हुमेल्सले पनि युरोकपमा नखेल्ने भएका छन्। प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडिगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि हुमेल्सले युरोकप गुमाउने भएका छन्।

यी बाहेक इङल्याण्डका रिच जेम्स, मार्कस रासफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्डसका जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन्।

त्यस्तै, फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले लागूऔषध प्रकरणमा डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन्।

Tags: