post-slider post-slider

मलंगवामा कर्फ्यु अवज्ञाको प्रयास, २३ राउन्ड अश्रुग्यास प्रहार

Image
A A

काठमाडौं- सर्लाही सदरमुकाम मलंगवामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कफ्र्यु अवज्ञा गर्न खोजिएपछि प्रहरीले २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

मलंगवा नगरपालिका–४ स्थित पानीटंकी नजिक २–३ सयको संख्यामा जम्मा भएको भिडले कफ्र्यु अवज्ञा गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारूले केही मानिसले कफ्र्यु अवज्ञा गर्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको जानकारी दिए।

‘पानीटंकी नजिक दुई तीन सयको संख्यामा जम्मा भएका मानिसहरूले कफ्र्यु अवज्ञा गर्ने प्रयास गरेका थिए। भिडलाई तितरबितर गर्न प्रहरीले २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ,’ आयोमेलसँग उनले भने।

डिएसपी पन्जियारका अनुसार अहिले मलंगवाको अवस्था सामान्य बनेको छ।

गणेश पुजाको मूर्ति विसर्जन गर्न लैजाने क्रममा दुई समुदायबीचको झडपछि तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

मूर्ति सेलाउन लैजाने क्रममा मलंगवा नगरपालिका–३ मा दुई समुदायबीच झडप भएको थियो।

मूर्ति सेलाउन लैजाँदै गर्दा बिजुली कटेको थियो। त्यही मौका छोपी मूर्ति सेलाउन लैजानेहरूमाथि ढुंगामुढा भएको बताइएको छ। 

मूर्ति सेलाउनेहरूमाथि ढुंगामुढा गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन नदिन कफ्र्यु लगाइएको जानकारी दिए।

उनका अनुसार अर्को आदेश नहुन्जेलसम्म कफ्र्यु जारी रहनेछ।

बिहीबार साँझको झडपमा केही मानिस घाइतेसमेत भएका थिए। अन्य घाइते प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर घाइते मलंगवा–७ का २३ वर्षीय रूपेश यादवको वीरगञ्जमा उपचार चलिरहेको छ।

मलंंगवास्थित शिवसागर चोक नजिकको पोखरीमा मुर्ति विसर्जन गर्न लैजाँदै गर्दा भएको झडप नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरीले पाँच सेल र सशस्त्र प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गरेको थियो।

दुवै पक्षबीच ढुंगाुमढा हुन थालेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरेको थियो।

सदरमुकाम मलंगवामा यसअघि श्रीकृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा पनि विवाद भइ कफ्र्यु र निषेधाज्ञा जारी गर्नुपरेको थियो।

 

 

 

Tags: