post-slider post-slider

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा थप कारबाही अगाडि बढ्छ’

Image
A A

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप कामकारबाही अघि बढ्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामकारबाही अगाडि बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ।

‘अनुसन्धानले केही पात्रहरूलाई अभियोजनको प्रक्रियामा अदालतमा अगाडि बढाइएको छ। पुर्पक्षमा थुनामा छन्, अनुसन्धानको प्रक्रिया पनि अगाडि बढिरहेको छ,’ उनले भने,‘अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामकारबाही अगाडि बढ्ने पनि प्रष्ट नै छ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा पहिलो चरणको अनुसन्धान पूर्ण नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई निर्देश गरेको छ।

दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने गृहमन्त्री श्रेष्ठले बताए।

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकाश

गृहमन्त्री श्रेष्ठले  प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइरहेको जानकारी दिए।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनेगरी कानुनको मस्यौदा तयार भइसकेको उनले बताए।

‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको छ। त्यो कानुन यही सदनमा आउनेछ,’ श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले प्रहरी संगठनभित्र प्रहरी जवा, सहायक हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको उल्लेख गरेका छ।

एसएसपीबाट ९ महिनामा डिआइजी, एआइजी हुँदै आइजिपी भए पनि प्रहरी जवानदेखि सइसम्म पदोन्नतिको व्यवस्था राम्रो नभएको उनको भनाइ छ।

श्रेष्ठले जवान, हवल्दारहरू १९–१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भएको बताए।

यसलाई सम्बोधन गर्न क्याडर ल्याडर प्याटर्न मिलाउन पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव अन्य मन्त्रालयमा पठाइसकेको उनले जानकारी दिए।

 

Tags: