post-slider post-slider

रविका पार्टनर छविसँग रुपन्देहीमा ५७ वटा सवाल-जवाफ

Image
A A

भैरहवा- सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ।

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कप्रालिमार्फत भएको अपचलनमा पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिएको हो। 

सोमबार रुपन्देही ल्याई प्रारम्भिक सोधपुछ भएको थियो भने मंगलबार बिहान ११ बजे देखि साढे ६ बजेसम्म बयान लिइएको थियो। सहकारी ठगी मुदामा ५७ वटा सवाल जवाफ गरी सरकारी कार्यालयबाट फिर्ता लगिएको जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।

‘मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउछ त्यो अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्दाको बीचमा थप बयान लिनुपर्ने देखिएकोमा थप बयान लिन सक्ने व्यवस्था पनि छ। त्यो कानुन टेकेर हामीले अवस्था हेरेर बयान लिन सक्छौं,’ उनले भने।

सोमबार नै बयान नसकिएकोले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको थियो। बुधबार विमानमार्फत् पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ। 

‘मंगलबार अहिलेको प्रयोजनको लागि रुपन्देहीको बयान सकिएको छ। थुनुवा फिर्ता भयो। प्रहरीले कहाँ-कहाँ अनुसन्धान गरिरहेको छ, त्यहीँ पठाउँछ,’ जिल्ला न्यायधिवक्ता पौडेलले भने। 

‘जिल्लामा भएको जहेरीको आधारमा र संसदीय समितिको प्रतिवेदनको आधारमा उनलाई रुपन्देही ल्याइएको हो। को-को लाई ल्याउनुपर्छ भन्ने बारेमा प्रहरीको अनुसन्धानबाट थाहा हुन्छ,’ जिल्ला न्यायधिवक्ता पौडेलले भने। 

सामान्य अवस्थामा सहज रुपमा सवाल-जवाफ भएको छ।

‘हामीले बयान भन्दाअगावै सवाल-जवाफ गर्न सक्ने अवस्था छ कि छैन भनेर सोधेपछि मात्रै दिन सक्ने भनेपछि बयान लिइएको थियो,’ इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले भने, ‘अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिएका छन्।’

अनुसन्धान र गोपनीयताको विषय भएकोले जिबी राई, रवि लामिछानेको विषयबारे कार्यालयले भने केही सार्वजनिक गरेको छैन। 

छविका पार्टनर रास्वपा सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

सहकारीपीडितले गरे प्रदर्शन

सहकारी ठगी आरोपमा पक्राउ परेका छविलाल जोशीलाई बयानको लागि रूपन्देही ल्याउँदा सहकारीपीडितहरूले केहीबेर प्रदर्शन गरे। जोशीलाई  सरकारी वकिल कार्यालय, रुपन्देहीमा ल्याएको थाहा पाएपछि पीडितहरूले शीघ्र कारबाहीको माग राख्दै रुपन्देही जिल्ला अदालतअगाडि प्रदर्शन गरेका हुन्।

अनुसन्धान प्रक्रिया चलेको दुई वर्षबढी समय भए पनि अहिलेसम्म आफूहरूले गुमाएको रकम पाउन नसकेको भन्दै पीडितहरू आक्रोशित भएका थिए। मुख्य अभियुक्त भनिएका जिबी राई, सुप्रिम सहकारीका तत्कालिन व्यवस्थापक लगायतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने पीडितको माग छ।

Tags: