पोखरामा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते
काठमाडौं- कास्कीमा बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका-२१ का ६ वर्षीय बालक प्रिन्स विक र ३३ वर्षीया आरती विक रहेका छन्।
उनीहरूको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए।
सोमबार बिहान पोखरा महानगरपालिका-२१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरा आउँदै गरेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको ग१क ६२१९ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा चालकसहित ३० जना घाइते भएकामा बालक र कार्यालय सहयोगी विकको उपचारको क्रममा मृत्यु भएको थापाले बताए।
अन्य घाइते २८ जनाको गण्डकी मेडिकल कलेज, पश्चिमी क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भइरहेको छ।