post-slider post-slider

जनकपुरबाट अयोध्या पठाइयो ‘भार’

Image
A A

जनकपुरधाम- जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (कोसेली) पठाइएको छ।

२२ जनवरीका दिन भगवान रामको जन्मभूमि अयोध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’ का लागि जनकपुरधाम–अयोध्याधाम यात्रासहित बिहीबार जनकपुरधामबाट भार पठाइएको हो।

जानकी मन्दिर प्राङ्गणमा आयोजित विशेष समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधि, मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका महन्त रामतपेश्वर दासलगायतले भारत लिएर अयोध्या जाने टोलीलाई बिदाइ गरे।

जानकी मन्दिरको अगुवाइमा विशेष यात्रासहित भार लिएर यात्रा प्रारम्भ भएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए।

छोरीको नवनिर्मित घरमा गृह प्रवेश हुँदा माइतीपक्षबाट कोसेली पठाउने मैथिली परम्परा रहेको छ।

आयोध्यामा लामो समयदेखि विवादित राम मन्दिर निर्माण कार्य सम्पन्न भएर ‘प्राण प्रतिष्ठा’ को तयारी भइरहेको अवसरमा यही परम्पराअनुसार जनकपुरधामबाट भार पठाइएको हो।

माता सीता जनकपुरधामको छोरी रहेको र अयोध्यामा उनको गृह प्रवेश हुने भएकाले यहाँबाट भार पठाइएको उत्तराधिकारी महन्त दासले बताए।

भारमा विभिन्न प्रकारका आभुषण, भाँडा, कपडाका साथै बाँसबाट बनाइएका विशेष ‘चङ्गेरा’ मा खजुरी, पिरूकिया, मिठाइलगायतका पकवान पठाइएको छ।

राममन्दिरको प्राण प्रतिष्ठालाई नयाँ गृह प्रवेशका रूपमा लिइ ‘घरबासक भार’ लिएर जनकपुरधामबाट करिब तीन सय जनाको टोली प्रस्थान गरेको उत्तराधिकारी महन्त दासले बताए।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि पठाइने भार जानकी मन्दिरका साथै जनकपुरधाम र आसपास क्षेत्रका कैयौं सर्वसाधारणले प्रदान गरेका छन्।

जनकपुरधामबाट निस्किएको ‘भारयात्रा’ जलेश्वर, मलंगवा, सिम्रौनगढ, गढीमाइ हुँदै वीरगञ्ज पुग्नेछ।

बिहीबार राति वीरगञ्जमा विश्राम गरी शुक्रबार बिहानै भारत बिहारको बेतिया हुँदै कुशीनगर, सिद्धार्थनगर, गोरखपुरसम्म विभिन्न धार्मिकस्थलको दर्शन गर्दै अयोध्या पुग्नेछ।

जनकपुरधामबाट पठाइएको भार पुस २१ गते आयोध्यमा श्रीराम जन्मभूमि राममन्दिर ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

यो कार्यले नेपाल–भारतबीच त्रेतायुगदेखि चलिआएको वैवाहिक सांस्कृतिक सम्बन्धको महत्व दर्शाउनुका साथै त्यसलाई थप बलियो बनाउन भूमिका खेल्ने जनकपुरधामका स्थानीयले लिएका छन्।

राममन्दिर प्राणप्रतिष्ठाको अवसरमा भार पठाउने कार्यले नेपाल–भारतबीच वर्षौंदेखि कायम सम्बन्धलाई थप प्रगाढ बनाउन मदत पुग्ने उत्तराधिकारी महन्त दासले बताए।

यसअघि निर्माणाधीन राममन्दिरको प्राणप्रष्ठिा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको थियो।

विश्व हिन्दू परिषद नेपालको नेतृत्वमा नेपालका विभिन्न नदीहरूबाट संकलन गरिएको जल अयोध्या पठाइएको थियो।

त्यस्तै अयोध्यामा मन्दिर निर्माण सुरू भएपछि गत वर्ष म्याग्दीस्थित कालीगण्डकी नदी किनारबाट शीलासमेत अयोध्या पठाइएको थियो।

 

Tags: