post-slider post-slider

संसद खुलाउन शीर्ष नेताहरू छलफलमा

Image
A A

काठमाडौं- संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री प्रचण्डले दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष सुवास नेम्वाङ, जसपाका प्रदीप यादवलगायतका नेताहरू सहभागी छन्।

त्यस्तै माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि बैठकमा सहभागी छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग राख्दै सदन अवरूद्ध गर्दै आएको छ।

एमालेको अवरोधका कारण १० साउनयता संघीय संसदको बैठक बस्न सकेको छैन।

शीर्ष नेताहरूको बैठक स्थगित भएपछि मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि सञ्चालन हुन सकेन। 

एमाले अध्यक्ष ओली अनुपस्थित भएपछि प्रधानमन्त्री प्रचण्डले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो।

बुधबार दिउँसो ३ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्ड शीर्ष नेताहरूसँग छलफलमा जुटेका हुन्।

 

Tags: