विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो।
प्रमुख विपक्षी दल नेकपा एमालेका साथै विपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदहरूले नागरिकता प्रमाणीकरणकोे विषय उठाउँदा बैठक अवरोध गरेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरे। बैठक सञ्चालनका विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो।
आइतबार अर्को बैठक सम्भावना नभएपछि प्रतिनिधिसभाका सचिव पद्यप्रसाद पाण्डेयले सूचना टाँसी सोमबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा राष्ट्रघाती काम भएको भन्दै एमाले, रास्वपा र राप्रपाले यो विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्।
आइतबारदेखि प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो।