post-slider post-slider

गाजामा इजरायल आक्रमण : एकै दिन ७ सयबढीको मृत्यु

Image
A A

काठमाडौं- इजरायलले गरेको हवाइ आक्रमणमा परी गाजामा एकै दिन ७ सयभन्दा बढीको ज्यान गएको छ।

इजरायलले मंगलबार गरेको हवाइ आक्रणमा यो संख्यामा गाजावासीको ज्यान गएको हो।

गाजामा मानवीय मामिला समन्वयका लागि काम गरिरहेको संयुक्त राष्ट्र कार्यालयका अनुसार अहिलेसम्म इजरायल–हमास संघर्षका क्रममा एकै दिन मारिएको यो सबैभन्दा बढी संख्या हो।

७ अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेको थियो। जसमा १४ सय इजरायली मारिएका थिए।

त्यो आक्रमणपछि इजरायलले लगातार गाजामाथि हवाइ आक्रमण गरिरहेको छ।

विश्भरका नेता अब यो संघर्षलाई साम्य पार्न प्रयास गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग टेलिफोनवार्ता गरेका थिए।

व्हाइट हाउसका अनुसार दुवै नेता युद्धग्रस्त इजरायल–गाजा क्षेत्रलाई शान्त बनाउनुपर्ने विषयमा सहमत भएका छन्।

उनीहरूले संघर्षलाई थप अगाडि बढ्न नदिने विषयमा जोड दिएको व्हाइट हाउसले बताएको छ।

यसैबीच वेस्ट बैंकमा इजरायली सेना र प्यालिस्टाइनीबीच हिंसक झडप भएको छ। 

प्यालिस्टाइन प्रशासनले जनाएअनुसार वेस्ट बैंकमा इजयारलले गरेको ड्रोन आक्रमणमा तीन प्यालेस्टिाइनीको मृत्यु भएको छ।

इजरायल–लेबनान सीमामा पनि हिजबुल्लाह र इजरायली सैनिकबीच झडप तिब्र भएको छ।

हमास र हिजबुल्लाहलाई समर्थन गरिरहेको इरानले गाजामाथि आक्रमण रोक्न इजरायललाई चेतावनी दिएको छ।

इजरायलको सेनाले आफूहरूले मोर्टार आक्रमणपछि सिरियाको सेनाको शिविरमा आक्रमण गरेको बताएको छ। यद्यपि यसबारे सिरियाले कुनै प्रतिक्रिया दिएको छैन।

यता संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिकाले यदि मध्यपूर्व वा अन्य कुनै ठाउँमा उसको सैनिकमाथि आक्रमण भए आफूहरूले निर्णायक जवाफ दिने इरानलाई चेतावनी दिएको छ।

अमेरिकाले इजरायलविरूद्ध युद्धको नयाँ मोर्चा नखोल्न पनि इरानलाई चेतावनी दिएको छ।

 

Tags: